२०८३ श्रावण १० गते आइतवार

images

बैङ्कको नाफामा देखियो अर्थतन्त्रको छाया, २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घट्यो

बैङ्कको नाफामा देखियो अर्थतन्त्रको छाया, २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घट्यो

सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
  • सहर्ष न्युज, काठमाडौं । दुई वर्षभन्दा लामो समय शिथिल रहेको अर्थतन्त्रको प्रभाव वाणिज्य बैङ्कहरूको नाफामा देखिएको छ । सोमबार सार्वजनिक भएको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुल २० वटा वाणिज्य बैङ्कमध्ये आधाको नाफा घटेको छ । नाफामा रहेका बैङ्कको वित्तीय विवरण पनि पूर्ण स्वस्थ छैन ।

    विवरण अनुसार गत आवमा वाणिज्य बैङ्कहरूको कुल नाफा ६४ अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यस अघिको आव २०७९/८० को तुलनामा त्यस्तो नाफा १३.४० प्रतिशतले वृद्धि भए पनि सञ्चालनमा रहेका आधा बैङ्कहरूको नाफा घट्नु समग्र बैङ्किङ व्यवसायका लागि भने सुखद् नभएको विज्ञहरूको भनाइ छ ।

    मुलुकको आन्तिरिक अर्थतन्त्र अपेक्षित सुधार नभए पनि वाणिज्य बैंकहरूले भने नाफा बढाएका छन्। २० वटा वाणिज्य बैंकले एक वर्षमा करिब सवा ६४ अर्ब रूपैयाँ खुद नाफा आर्जन गरेका छन्।

    वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ६४ अर्ब १६ करोड रूपैयाँ खुद नाफा कमाएका हुन्। आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आवमा औसत खुद नाफा १३.४० प्रतिशत बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। आव २०७९/८० मा बैंकहरूको नाफा ५६ अर्ब ५८ करोड रूपैयाँ मात्र थियो।

    बैंकहरूको नाफा बढे पनि समग्रमा धेरै उत्साहजनक भने छैन। १० बैंकको नाफा बढेको छ भने १० बैंकको नाफा घटेको छ। नाफा बढे पनि वितरणयोग्य नाफा भने निकै कम रहेको छ। कुल नाफाको करिब १२ प्रतिशत अर्थात सात अर्ब ६२ करोड रूपैयाँ मात्रै वितरणयोग्य नाफा रहेको छ। बैंकहरूको वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ। बैंकहरूको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा न्यून छ। बैंकले लगानी गरेको कर्जाको साँवा, ब्याज उठ्न नसक्दा वितरणयोग्य नाफा कम छ। कतिपय बैंकको वितरणयोग्य नाफा त ऋणात्मक छ।

    सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले आव २०८०/८१ मा सात अर्ब ६ करोड रूपैयाँ नाफा कमाएको छ। सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकको रहेको छ। माछापुच्छ्रेको नाफा एक अर्ब २५ करोड रूपैयाँ छ। प्रभु बैंकको नाफाको वृद्धिदर सबैभन्दा धेरै छ। प्रभुको नाफा १६ गुणा बढेको छ। एनआइसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशतले घटेको छ।

    नबिल, नेपाल एसबिआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेष्ट, प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा बढाएका छन्। त्यसैगरी, माछापुच्छ्रे, सिटिजन्स्, एनआइसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ।

    वाणिज्य बैंकको औषत लाभांश क्षमता ५.८५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकहरूको औसत लाभांश क्षमता ९.६५ प्रतिशत रहेकोमा गत आवमा औसत लाभांश क्षमता ५.८५ प्रतिशत मात्र देखिएको हो। २० वटा बैंकमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ।

    एभरेष्टको लाभांश क्षमता २९.८६ प्रतिशत छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको २६.५ प्रतिशत रहेको छ। त्यसैगरी, नबिल बैंकको १४.२६ प्रतिशत, नेपाल एसबिआइको १०.७६ प्रतिशत र सानिमाको १०.४ प्रतिशत लाभांश क्षमता रहेको छ। केही बैंकको लाभांश क्षमता ऋणात्मक रहेको छ। कुमारी, हिमालयन, एनआइसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको हो।

    वाणिज्य बैंकहरूले नाफा बढाए पनि खराब कर्जा (एनपिएल) पनि बढेको छ। गत बैंकहरूको खराब कर्जा करिब साढे १७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को असारसम्म वाणिज्य बैंकहरूको औसत एनपिएल १७.५६ प्रतिशत बढेर चार प्रतिशत पुगेको छ। जबकि अघिल्लो वर्षको सोही अवधिमा औसत तीन प्रतिशत मात्रै खराब कर्जा थियो। २० वटा वाणिज्य बैंकमध्ये १७ वटा बैंकको खराब कर्जा बढेको छ भने सात वटा वाणिज्य बैंकले खराब कर्जा घटाएका छन्।

    सबैभन्दा धेरै खराब कर्जा एनआइसी एसिया बैंकको रहेको छ। एनआइसी बैंकको खराब कर्जा २८७.५ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु पुगेको हो। त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराबकर्जा ८१.३५ प्रतिशत बढेर २.१४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको ६०.६१ प्रतिशत बढेर ३.६३ प्रतिशत बिन्दु, लक्ष्मी सनराइज बैंकको ५७.८५ प्रतिशत ४.७२ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ३८.७३ प्रतिशत बढेर ४.३७ प्रतिशत बिन्दु, सानिमा बैंकको ३२.०६ प्रतिशत बढेर १.७३ प्रतिशत बिन्दुमा पुगेको छ।

    त्यसैगरी, कृषि विकास बैंकको ३४.७४ प्रतिशत बढेर ३.४४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको २० प्रतिशत बढेर ४.०७ प्रतिशत बिन्दु, एनएमबी बैंकको १८.९० प्रतिशत बढेर ३.२७ प्रतिशत बिन्दु, नेपाल बैंक लिमिटेडको १५.०८ प्रतिशत बढेर ३.२८ प्रतिशत बिन्दु पुगेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

    त्यसैगरी, नबिल बैंकको १३.५६ प्रतिशत बढेर ३.८५ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १०.४४ प्रतिशत बढेर २.२२ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)को ९.०३ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ।

    सात वटा वाणिज्य बैंकले खराब कर्जा घटाए पनि अरू बैंकको खराब कर्जा बढेको छ। कुमारी बैंकको खराब कर्जा ०.२० प्रतिशत घटेर ४.९५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ०.४० प्रतिशत घटेर ४.९१ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ३.१८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, प्राइम बैंकको ३.७१ प्रतिशत घटेर ४.६७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०१ प्रतिशत घटेर ४.७८ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १०.१२ प्रतिशत घटेर ०.७१ प्रतिशत बिन्दु र नेपाल एसबीआई बैंकको १७.३५ प्रतिशत घटेर दुई प्रतिशत बिन्दुमा एनपीएल कायम भएको छ।

    पूर्वबैङ्कर भुवन दाहाल सञ्चालनमा रहेका बैङ्कमध्ये आधा घाटामा जानुलाई स्वाभाविक मान्न नसकिने बताउनुहुन्छ । “मेरो अनुभवमा यति ठुलो सङ्ख्यामा बैङ्कहरूको नाफा घटेको धेरैपछि मात्रै हो,” उहाँले भन्नुभयो । समग्र अर्थतन्त्र नै सुध्रिन नसकेको अवस्थामा बैङ्कहरूको वित्तीय विवरण त्यससँग मेल खाएको उहाँको बुझाइछ ।

    उपभोग र निर्माण क्षेत्रले नै नकारात्मक वृद्धिदर भोगेको गत आर्थिक वर्षमा त्यसको समग्र असर वित्तीय संस्थाले पनि भोग्नुपरेको थियो । कारोबारमा शिथिलता आउँदा कर्जा विस्तार ६ प्रतिशतमै सीमित हुनु र खराब कर्जासमेत बढ्दा बैङ्कहरूको नाफामा प्रत्यक्ष असर पुगेको देखिन्छ ।

    कतिपय नीतिगत प्रावधानले पनि बैङ्कहरूको व्यवसाय प्रभावित भएको बताउनुहुन्छ अर्का पूर्वबैङ्कर पर्शुराम कुँवर क्षेत्री । “स्थानीय तहको निक्षेप गणना गर्न नपाउने र मर्जरबापत एकै पटक करिब १५ अर्ब रुपियाँ कर तिर्नुपर्दा बैङ्कहरूको व्यवसाय प्रभावित भएको हो,” उहाँले भन्नुभयो, “यस किसिमको नीतिगत व्यवस्थाको चक्रीय असर नाफासम्म पुगेको देखिन्छ ।” यसबाहेक अर्थतन्त्रमा देखिएका समस्याको स्वाभाविक असर नाफामा देखिने उहाँको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend