२०८३ भाद्र २७ गते शनिवार

images

प्रयोगशालामा उमारियो दाँत, मक्किने वा झर्ने समस्याको उपचारमा नयाँ सम्भावना

प्रयोगशालामा उमारियो दाँत, मक्किने वा झर्ने समस्याको उपचारमा नयाँ सम्भावना

सहर्ष न्युज
मंगलवार, बैशाख २ २०८२
सहर्ष न्युज
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । धेरै जीवहरूमा दाँत बारम्बार उम्रिन सक्छ, मानवजातिमा भने जीवनमा एक पटक मात्र दाँतहरू फेरिन्छन्।

    तर किङ्स कलेज लन्डनका वैज्ञानिकहरू प्रयोगशालामा मानिसको दाँत उमार्न सफल भएका छन्। दन्तचिकित्साको क्षेत्रमा यसलाई निकै ठूलो उपलब्धि मानिएको छ।

    मानिसको मुखभित्र त्यसरी दाँत उमारेर खाडल पुर्ने उपचार गर्न अझ धेरै समय लाग्न सक्ने भए पनि प्रयोगशालामा प्राप्त यो सफलताका कारण अनुसन्धानमा विद्यमान खाडल भने पुरिएको वैज्ञानिकहरू बताउँछन्।

    "फेरि उमारेर जैविक विधिबाट दाँत फेर्ने यो अवधारणाले मलाई डोर्‍याएर लन्डन र किङ्स कलेज पुर्‍यायो," रिजेनरटिभ डेन्टिस्ट्रीकी निर्देशक डा आना आन्जेलोभा-भोल्पोनीले भनिन्।

    "डिशमा दाँत उमारेर हामीले ज्ञानमा भएको खाडल पुरेका छौँ।"

    उपयोग

    मानिसहरू हँसिलो देखिन चाहन्छन्। त्यसका लागि 'ब्रेसेस' अर्थात् दाँत तारले बाँध्ने अथवा 'इप्लान्ट' अर्थात् कृत्रिम दाँत प्रत्यारोपण गर्ने चलन बढेको छ।

    तर इम्प्लान्ट राखेका बिरामी र तिनको उपचार गर्ने दन्तचिकित्सक दुवै पक्षले अप्रत्याशित समस्या खेप्नुपर्ने हुन सक्छ।

    "इम्प्लान्ट राख्न शल्यक्रिया गर्नुपर्छ, इम्प्लान्ट र दाँत बस्ने हड्डी पनि मिलेको हुनुपर्छ," फ्याकल्टी अफ डेन्टिस्ट्री, ओरल एन्ड क्रेनिओफेशल साइअन्सेसमा विद्यावारिधि गर्दै गरेका शुएशेन चाङले भने।

    "प्रयोगशालामा उमारिएका दाँतहरू आफैँ बढ्छन् र गिजामा वास्तविक दाँत जसरी नै टम्म मिलेर बस्छन्।"

    "ती बलिया हुन्छन्, लामो समय टिक्छन् र तिनलाई शरीरले अस्वीकार गर्ने जोखिम हुँदैन। यो उपाय दाँत भर्नु वा कृत्रिम दाँत (इम्प्लान्ट) प्रत्यारोपण गर्नुभन्दा दीर्घकालीन र जैविक रूपमा बढी अनुकूल हुन्छ।"

    सम्भावना

    किङ्स कलेजका वैज्ञानिकहरूले इम्पेरिअल कलेज लन्डनसँगको सहकार्यमा अहिले कोषहरूबीच सङ्केत प्रवाह गर्न एउटा विशेष प्रकारको पदार्थ प्रयोग गरेका छन्।

    यसको अर्थ एउटा कोषले अर्को कोषलाई दाँत बन्ने कोष बन्न निर्देशन दिन सक्छ अनि दाँत बन्ने कोषले उम्रिने दाँतको वातावरणको नक्कल गर्न थाल्छ।

    यसैका बलमा वैज्ञानिकहरू प्रयोगशालामा दाँत विकास हुने प्रक्रिया अनुकरण गर्छन्।

    वैज्ञानिकहरू दाँत उम्रिन चाहिने परिस्थिति निर्माण गर्न सफल भएका छन्।

    अब उनीहरूले प्रयोगशालामा उमारिएका दाँत बिरामीको मुखभित्र कसरी स्थानान्तरण गर्न सकिन्छ भनेर काम गर्नुपर्ने छ।

    त्यसका लागि धेरै वर्ष लाग्न सक्छ।

    "मुखभित्र दाँत सार्नका लागि हामीसँग विभिन्न अवधारणा छन्। दाँत नभएको खाली ठाउँमा हामी दाँत उम्रिने कोषहरू प्रत्यारोपण गर्न सक्छौँ र तिनलाई त्यहाँ उम्रिन दिन सक्छौँ," जाङले भने।

    "अथवा बिरामीको मुखमा राख्नुअघि हामी पूरै दाँत प्रयोगशालामा उमार्न सक्छौँ।

    वैज्ञानिकहरूले जस्तोसुकै विधि रोजे पनि प्रारम्भिक प्रक्रिया भने प्रयोगशालामै सुरु हुन्छ।

    मुख सफा नराख्दा मानिसहरूको खाने, बोल्ने र अरूसँग घुलमिल हुने क्षमता प्रभावित हुन सक्छ। मुखमा हुने सूक्ष्मजीवहरू रगतमा फैलिए भने मुटुको समस्या र विभिन्न खालका सङ्क्रमण हुने जोखिम पनि बढ्छ।

    पाको उमेरका धेरै मानिसहरू दाँत मक्किने समस्याबाट पीडित हुन्छन्।

    किङ्स कलेजमा दन्तचिकित्साको प्रस्थोडन्टिक्स विषय प्राध्यापन गर्ने सूर्शा ओ'टूलुका अनुसार "दाँत उमार्ने यो नयाँ प्रविधि निकै उत्साहप्रद छ र दन्तचिकित्सकहरूका लागि यसले नयाँ मोड ल्याइदिन सक्छ।"

    "के यो मेरो जीवनकालमै सम्भव होला त? हुन पनि सक्छ। मेरा बच्चाहरूको दाँतका लागि? हुन सक्छ। तर मेरा नातिनातिनाको जीवनकालमा सम्भव हुन्छ भन्ने आशा गरौँ।"

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend