भक्तपुर जिल्लालाई सडक मानवमुक्त गर्न उद्धार, उपचार, आश्रय दिने, शिक्षा, स्वास्थ्यको व्यवस्था र पारिवारिक पुर्नमिलन गर्दै आएको मानव कल्याण समाज भक्तपुरले सडक मानवको स्थायी आवास निर्माणार्थ सो ज्ञानबिज्ञान महायज्ञ आयोजना गरेको हो ।
महायज्ञकी सहसंयोजक अन्जना मधिकर्मीका अनुसार, मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसंगै चैत्र २१ गतेदेखि सञ्चालित महायज्ञमा स–साना बालबालिकादेखि ९० वर्षका बृद्धबृद्धासमेत आर्थिक सहयोग गर्न तंछाडमछाड गर्दै गरेको दृष्य सामान्य जस्तो लग्न थालेको छ । महायज्ञको चौथोदिन आईतवार मात्र एक सय भन्दाबढी दाताले आर्थिक सहयोग गरेको मधुकर्मीको भनाई छ ।
आयोजक समितिका कोषाध्यक्ष नरेश रंजितका अनुसार, मानव कल्याणले गरेको मानव सेवाबाट प्रभावित भएर बृद्धभत्ता लिएका बृद्धबृद्धाले मात्र होइन, सात–आठ वर्षका बालवालिकाले समेत खुत्रुकेमा जम्मा गरेको पैसा दानस्वरुप उपलव्ध गराएका छन् । मध्यपुर थिमि–३, गठ्ठाघर निवासी ७८ बर्षीया मिश्री देउजाले बृद्ध भत्तामा आएको ११, हजार एस य ११ रूपैयाँ मानव कल्याण समाजलाई सहयोग गरेको बताइन्।
बृद्वभत्ताबाट प्राप्त भएको रकम अनाथ असाहायका लागि सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको देउजाको भनाई थियो । त्यसैगरी काभ्रेको नमोबुद्द नगरपालिकाकी एक सात बर्षिया बालिकाले खुत्रुकेमा जम्मा गरेको रकमबाट आईतवार ५ हजार रुपौयाँ सहयोग गरेकी छिन् ।
महायज्ञमा सहयोग गर्न धेरै वेरसम्म लाइन बस्नुपर्ने अवस्था रहेको बताउँदै ॐ सृजनसिल समाजका अध्यक्ष अर्जुन केसीले प्रमाणपत्र लिन स्टेजमा पुग्दासमेत निकैवेर कुर्नुपरेको बताए । मानव कल्याण समाजले सडक मानवको उद्वारगरी पालन पोषण गर्दै आएको सुनेपनि महायज्ञ मार्फत धेरै कुरा बुझ्ने अवसर पाएको केसीको भनाई थियो।
महायज्ञमा सहयोग गर्नेको सूचिमा पाँच बर्सदेखि ब्लड क्यानसरबाट पिडित गोबिन्द प्रसाद न्यौपाने समेत रहेका थिए । मध्यपुर थिमि निवासी न्यौपानेले २१ हजार रुपौयाँ सहयोग उपलव्ध गराएको महायज्ञ मुल आयोजक समितिका संयोजक गोपी न्यौपानेले बताए । संयोजक न्यौपानेका अनुसार, दुवै किड्नीले काम गर्न छाडेपछि डाइलाइसिस गराई राखेका सुर्यविनायक नगरपालिका–२ बालकोटका नारायण बस्नेतले समेत महायज्ञमा ११ हजार रुपौयाँ सहयोग गरेका छन् ।
मानव कल्याण समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी प्रमुख कथा वाचिका देवी सुमी मानवले सबै भक्तपुरवासीको सहयोगमा सडकबाट उद्धार गरिएका असहाय सडक एवं वेवारिसे मानवको लालन, पालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि महायज्ञको आयोजना गरिएको बताइन ।
सबैले एउटा इट्टा र एक बोरा सिमेण्ट सहयोग गरे भक्तपुरमै मानव कल्याण धाम बनाउँन सकिने बताउँदै सुमि मानवले यो धनमात्र जोड्ने अभियान नभएर मन जोड्ने अभियान भएको बताइन । मानवकै पहलमा ‘२०७२ सालदेखि भक्तपुरबाट सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेको थियौ ।
समाजले हाल अहिले भक्तपुरको झौखेलमा अर्कै संस्थाको टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । समाजका सचिव बिजय कुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौको पशुपति, काभ्रेको पनाती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि पाँच सय पाँच जनालाई पालन पोषण गर्दै आएको छ ।
त्यसै क्रममा २१ सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नमिलन गराइएको बताउँदै पोखरेलले हाल देशका ६ स्थानमा रहेका शाखाबाट पाँच सय पाँच जनाले सेवा पाईरहेको जानकारी दिए । समाजले हाल काठमाडौको पशुपति क्षेत्र, भक्तपुरको झौखेल, काभ्रेको धुलिखेल र पनौति, बाराको निजगढ तथा दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ।
तिनै सेवा घरकी संस्थापक अध्यक्ष सुमि मानवले भारतको उत्तर प्रदेशस्थित बृन्दावनमा श्रीमद्भागवतको कोर्ष पुरा गरेर पुराण भन्न थालेकी हुन् । मानवले यसअघि, काभ्रे, सिन्धुपाल्चौक, दाङ लगायतका जिल्लामा प्रमुख कथा वाचकका रुपमा पुराण भनिसकेको बताइएको छ ।


