२०८३ श्रावण ११ गते सोमवार

images

सङ्घीय निजामती विधेयकले बिउँतिँदै अतिरिक्त सचिवको व्यवस्था

सङ्घीय निजामती विधेयकले बिउँतिँदै अतिरिक्त सचिवको व्यवस्था

सहर्ष न्युज
शुक्रवार, चैत्र १४ २०८१
सहर्ष न्युज
शुक्रवार, चैत्र १४ २०८१
  • काठमाडौं । अतिरिक्त सचिवको दरबन्दी रहने गरी सङ्घीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको उपसमितिले तयार पारेको छ । फागुन १२ गतेदेखिको गोप्य छलफलपछि उपसमितिले विधेयकको प्रतिवेदन समितिमा पेस गरेको हो । कुलिङ परियड, ट्रेड युनियनको व्यवस्थालगायतका केही विषयमा थप छलफल गर्ने गरी उपसमितिले प्रतिवेदन समितिमा बुझाएको छ । 

    मुलुक सङ्घीय संरचनामा गएको झन्डै दशकपछि सङ्घीय संरचना अनुकूल कर्मचारी कानुन संसदीय उपसमितिमा सहमति भएको हो । दुवै सदनबाट पारित भएपछि कानुन कार्यान्वयनमा आउने छ । प्रतिनिधि सभाको २०७४–०७९ को कार्यकालमा समितिले प्रतिवेदन पारित गरिसकेको अवस्थामा विधेयक फिर्ता भएको थियो । 

    उपसमितिले अतिरिक्त सचिवमा सहमति गरे पनि दरबन्दी सङ्ख्या यकिन गरेको छैन । २०५९ पछि पुनः अतिरिक्त सचिवको व्यवस्था बिउँत्याइएको हो । पटक पटक परीक्षण भई खारेज गरिएको व्यवस्था पुनः लागु गर्न लागिएको हो । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा तीन महिनामा सङ्ख्या यकिन गर्ने सैद्धान्तिक सहमति भने उपसमितिले गरेको छ । 

    उपसमिति संयोजक दिलेन्द्रप्रसाद बडूले तीन महिनामा सङ्ख्यालगायतका अन्य व्यवस्थापकीय विषयमा गृहकार्य हुने गरी सैद्धान्तिक समझदारी बनेको बताउनुभयो । बडूले भन्नुभयो, “अतिरिक्त सचिव रहने सहमति भएको छ । हामीले केही कार्यालय र विभागमा अतिरिक्त सचिव राख्ने सहमति गरेका छौँ तर कति र कहाँ भन्ने विषय सर्वेक्षणबाटै टुङ्गो लाग्ने छ ।”

    बडूका अनुसार तथ्याङ्क कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रस्ट, जल तथा ऊर्जा आयोगको सचिवालय जस्ता कार्यालय तथा निकायमा अतिरिक्त सचिव रहने छन् । यस्तै सङ्घीय सरकारका विभिन्न विभागमा पनि अतिरिक्त सचिव रहने छन् । 

    अतिरिक्त सचिव प्रदेशमा पठाउने वा नपठाउने विषय भने उपसमितिले समितिमा थप छलफल गर्ने गरी प्रतिवेदन बुझाएको छ । उक्त विषयमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे र सङ्घीय समाजवादी पार्टीका प्रकाश अधिकारीको फरक मत छ । प्रदेशमा मन्त्रालयको सङ्ख्या फेरबदल भइरहने भएकाले अतिरिक्त सचिव प्रदेश पठाउन उपयुक्त नहुने तर्क अन्य दलहरूको छ । सरकारले प्रस्ताव गरेको मूल विधेयकमा भने अतिरिक्त सचिवको व्यवस्था राखिएको थिएन । 

    यस्तै प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित सेवाकै हुने छन् तर पदपूर्तिलगायतका व्यवस्था नहुँदासम्म दस वर्षका लागि सङ्घबाटै कर्मचारी खटिन सक्ने व्यवस्था उपसमितिले गरेको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्षको दबाबपछि उपसमितिले उक्त व्यवस्थामा सहमति गरेको हो । सङ्घीय लोक सेवा आयोगले भने प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत सङ्घकै हुनुपर्ने सुझाव दिएको थियो । 

    कुलिङ पिरियडको निर्णय समितिबाटै

    अवकाश प्राप्त कर्मचारी सरकार तथा गैरसरकारी सेवामा जानका लागि न्यूनतम समयसीमा तोक्नुपर्ने उपसमितिमा सहमति भएको छ तर फरक फरक राय प्राप्त भएको भन्दै उपसमितिले उक्त विषयलाई थप छलफलका लागि समितिमा पठाएको छ । 

    उपसमितिले संवैधानिक आयोगलगायतका सरकारी नियुक्तिमा एक वर्षको समयसीमा तोक्न प्रस्ताव गरेको छ । विदेशी सङ्घसंस्थाको जागिरको हकमा दुई वर्षको समयसीमा प्रस्तावित छ । यस्तै उपसमितिले सङ्घीय निजामती सेवामा सहसचिवको खुला प्रतिस्पर्धा हटाएको छ ।  

    कुल दरबन्दीको दस प्रतिशत खुलाबाट पदपूर्तिको प्रस्ताव सरकारले गरेको थियो । संसदीय समितिले उक्त व्यवस्था हटाएको हो । उपसचिवसम्मको दस प्रतिशत खुला प्रतिस्पर्धा यथावत् राखिएको छ । अन्तर तह प्रतिस्पर्धा सबैका लागि खुला गरिएको छ । 

    ट्रेड युनियन यथावत्

    कर्मचारीको आधिकारिक ट्रेड युनियनको व्यवस्था यथावत् राख्न उपसमितिमा सहमति भएको छ । सरकारले गरेको प्रस्ताव अनुसार नै उपसमितिले पनि विधेयक अघि बढाएको हो । उपसमितिले उक्त विषय थप छलफल गर्न समितिलाई सुझाव पनि दिएको छ । निजामती सेवामा तह र श्रेणी दुवै प्रणाली रहने भएको छ । प्रदेश र स्थानीय सेवामा अहिले तहगत प्रणाली कायम छ । सङ्घमा भने दुवै प्रणाली प्रचलनमा रहने भएको हो । 

    कर्मचारी अवकाशको उमेर अब ६० वर्ष हुने गरी उपसमितिले प्रतिवेदन बुझाएको छ तर कार्यान्वयनको मोडालिटीबारे भने समितिमा थप छलफल हुने छ । उपसमितिमा लोक सेवा आयोगले समेत लिखित र मौखिक रूपमा फरक फरक राय दिएपछि समितिमा थप छलफलको सुझाव उपसमितिले दिएको हो । 

    मुख्य सचिव र सचिवको कार्यकाल एक/एक वर्ष घटाउने गरी प्रतिवेदन तयार भएको छ, जस अनुसार अब मुख्य सचिवको कार्यकाल दुई र सचिवको चार वर्षमा सहमति भएको छ । सेवा प्रवेशमा महिलाको उमेरलाई घटाइएको छ । सरकारले प्रस्ताव गरेको ४० वर्षलाई उपसमितिले ३९ वर्ष बनाएको छ । 

    समावेशी आरक्षण अब ४९ प्रतिशत पुर्‍याउने प्रस्ताव गरिएको छ । अहिलेको ४५ प्रतिशतलाई ४९ प्रतिशत पुर्‍याइएको हो । कुल समावेशी कोटाको ५० प्रतिशत महिलाका लागि छुट्याइने छ । थारू र मुस्लिमलाई संवैधानिक व्यवस्था अनुसार मधेशी क्लस्टरबाट फरक गरिएको छ । सरुवा र बढुवालाई भौगोलिक क्षेत्र अनुकूल हुने गरी अनिवार्य र चक्रीय गर्ने प्रस्ताव उपसमितिको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend