काठमाडौं । राजनीतिले आफ्नो धार छाड्दा मुलुकमा अस्थिरता र दुर्गती भोगिरहेको बेला नेपाली काँग्रे्रस मोरङ्ग काठमाडौं सम्पर्क समितिले राजधानीमा एउटा विचार गोष्ठीको आयोजना ग¥यो । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालालाई प्रमुख अतिथि बनाएर गरिएको उक्त गोष्ठीमा अधिकांश वक्ताहरुले सरकारले जनतालाई ‘डेलिभरी’ दिन नसकेको, मुलुकमा शान्ति, सुशासन र स्थिरता कायम गर्न नसकेको भन्दै कडा आलोचना गरेरै कार्र्र्यक्रम सम्पन्न भयो ।
सुरुमा गुनासोको पोको निर्माण व्यवसायी समेत रहेका आयोजक संस्थाका अध्यक्ष तथा बरिष्ठ अभिनेता विनोद भट्टराईले खोले । विचार गोष्ठी आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पार्दै उनले सरकारले जनतालाई ‘डेलिभरी’ दिन नसकेको, बढ्दो अस्थिरतासँगै मुलुकको सबै क्षेत्रमा निराशा छाएको बताए । नेपाली कांग्रेसको नेतृत्वले बाटो विराउँदा ऐतिहासिक विरासत बोकेको जनताको पुरानो र लोकप्रिय पार्टीमा विचलन बढिरहेको बताउँदै उनले जनतामा पुनः स्थापित हुन कांग्रेसको घोषणा पत्रमा फर्केर जनताका सेवामा समर्पित हुन नेतृत्वलाई ध्यानाकर्षण गराए । ‘कांग्रेसको घोषणा पत्रहरुमा के थियो र अहिले के भइरहेको छ ?’ समिक्षा गर्न जरुरी रहेको बताए । उनले नेपालकै प्रमुख ठूलो मध्येको एक शहर विराटनगरमा बर्षदिनमा बर्षैदिन जस्तै हुने फाहोर फोहोरको जोखिमलाई सफा गर्न के ले रोकेको भनेर स्थानीय देखि केन्द्रीय नेताहरुको समेत आलोचना गर्न भ्याए ।
त्यसपछि पार्टी र सरकारको आलोचनामा उभिए नेपाल संस्कृत विश्व विद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला । सरकारले प्रशंसा गर्ने काम केही नगरेको भन्दै उनले पनि सरकारकै आलोचना सुनाऐ । सरकारसँगै काँग्रेस नेतृत्वसँग पनि प्रा.डा. कोइरालाको आलोचना थियो । उनले बी.पी. कोइरालाले गोडमेल गरेर हुर्काएको असली काँग्रे्रेस अहिले नभएको बताऐ । ‘काँग्रेस कहिले माओवादी माओबादी जस्तै देखियो, कहिले एमाले एमाले जस्तै देखियो । उनले थपे– ‘काँग्रेस साँच्चिकै काँग्रेस जस्तै देखिनुपर्छ ।’ नेतृत्वले बी.पी. कोइरालाको काँग्रेस जस्तै बनाएर लगे देशमा देखिएको बर्तमान समस्या नरहने दाबी समेत उनले गरे ।
कोशी प्रदेशका पूर्व मूख्य मन्त्री केदार कार्कीले त झन् सरकार र पार्टी नेतृत्वको आलोचना गरेर ‘फ्लोर’ लाई नै तरंगित बनाएदिए । काँग्रेस नेतृत्वलाई उनले जनतामा जान लायकको पार्टी बनाएर देखाउन नेतृत्वलाई चुनौति नै दिए । ‘भीडतन्त्रमा विश्वास गर्ने कांग्रेस नेपाली जनतालाई चाहिएको छैन्’ उनले भने– हामीलाई रबि लामिछानेजस्तै अस्थायी भीड जम्मा गरेर हिड्ने पार्टी चाहिएको हैन् ।’ जनतामा राम्रा एजेन्डा लिएर जान लायकको कांग्रेस चाहिएको उनको भनाई थियो । असली मतदाता र जनताका प्रिय डा. शेखर कोइरालाले नेतृत्व लिए काँग्रेससँगै मुलुकको बर्तमान अवस्थाबाट निकास पाउने समेत उनले ठोकुवा गरे ।
पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरे, पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, पूर्वमन्त्री एनपी साउदले पनि देशको बर्तमान अवस्था चिन्ता गर्न लायक नै रहेको उल्लेख गरे । सबै क्षेत्रमा निराशा रहेको भन्दै उनीहरुले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनीहरुले सरकारमा वस्नेहरुको गैरजिम्मेवारीपन र उदण्ड प्रवृतिले जनतामा निराशा बढेको भन्दै सरकार र नेतृत्वको आलोचनासँगै ध्यानाकर्षण गराए ।
पूर्व मन्त्री रिजालले भन्न पनि लाज लाग्ने काँग्रेस सहितको सरकारको कुनै पनि काम प्रशंसा गर्न लायकको नभएको बताए । बुँदा बुँदामा सरकारले गरेका कदमको उनले कडा आलोचना गरे । सरकारमा काखा पाखाको ‘राम्रै ट्रेन्ड’ चलिरहेको जनताले नियालिरहेको भन्दै लाज पनि लजाइरहेको तर्क पेश गरे ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले पनि देशको समग्र अवस्था सन्तोषजनक नभएको थपे । कार्यक्रममा उपस्थित काँग्रेसको सयौं नेता कार्यकर्ता माझ बरिष्ठ नेता कोइरालाले पार्टी र देशमा बढेको निराशाप्रति आफू गम्भीर रहेको भन्दै उनले यसलाई सुधार गर्न आफूले थप पहल थाल्ने प्रतिबद्धता व्यक्त गरे ।
२०८२ को मङ्सिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको अधिवेशन २०८२ मङ्सिर मसान्तसम्म भएन भने कांग्रेस कमजोर हुँदै जाने भन्दै त्यसमा ध्यान दिन आग्रह गरे ।
उनले आफूहरूले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने बताए । उनले सामाजिक सञ्जालमा २०८२ को मङ्सिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरूलाई निर्देशन दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने जिकिर गरे ।
सांसद कोइरालाले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिर मसान्तसम्म भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिऔँ हौँ साथीहरू । एकदम सिरियस कुरा छ यो । हामीले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन । अधिवेशन तपाईंहरुलाई चाहिएको छ । हामी जस्तालाई चाहिएको छ । त्यसकारण तपाईँहरूले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा दिनदिनै केही न केही लेखिरहेको म देख्छु । मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ को मङ्सिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दो रहेछ हेर्नुस् । यस्तो प्रेसर पर्छ की कसैले त्यो प्रेसर खेप्नै सक्दैन । नेपाली कांग्रेसको चलायमान अधिवेशनबाट हुने हो नि त । को आउँछ, को जित्छ, हार्छ भन्ने कुरा आफ्नो ठाउँमा छ ।’
सांसद कोइरालाले सबैले साथ दिएको खण्डमा नेपाल बनाउन सकिने जिकिर गरे । देश विकासका लागि नेपाली कांग्रेस एक ढिक्का हुन जरुरी रहेको उनको भनाई थियो । उनले पार्टी सभापति शेरबहादुर देउवा र आफूबीचमा कुनै तिक्तता नरहेको दाबी गरे ।

