काठमाडौं । ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग’ ले गर्ने स्थानीय सरकारहरूको कार्य सम्पादन मूल्यांकनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका जिल्लाकै उत्कृष्ट ठहरिएको छ। भर्खरै सार्वजनिक गत वर्षको नतिजामा खोटाङका दुई नगर तथा आठ गाउँपालिका गरी १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ पहिलो भएको हो।
आयोगले बर्सेनि गर्दै आएको कार्य सम्पादन मूल्यांकनको भर्खर सार्वजनिक आर्थिक वर्ष ०८०–८१ को अन्तिम नतिजामा हलेसी तुवाचुङले ६८.५४ नम्बर प्राप्त गर्दै जिल्लाको उत्कृष्ट बन्ने अवसर पाएको हो। यसअघि सार्वजनिक प्रारम्भिक नतिजामा भने सदरमुकाम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका पहिलो हुँदा रावाबेंसी गाउँपालिका दोस्रो र हलेसी तुवाचुङ तेस्रो स्थानमा सीमित भएको थियो।
प्रारम्भिक चरणको नतिजामा चित्त नबुझे पुनरावलोकन गर्न आयोगले ३० दिनको म्याद दिएको थियो। सोही प्रक्रियाभित्र छिरेर हलेसीले पुनरवलोकन गर्दा अन्तिम नतिजामा जिल्ला उत्कृष्ट बन्न सफल भएको हो। अन्तिम नतिजामा दिक्तेल रूपाकोट मझुवागढीले ६७.८८ अंक पाउँदै दोस्रो स्थान पाएको छ भने रावाबेंसी गाउँपालिका ६३.८० अंकका साथ तेस्रो भएको छ।
त्यसैगरी जन्तेढुङ्गा गाउँपालिका ५९.०१ अंकका साथ चौथो हुँदा बराहपोखरी गाउँपालिकाले ५५.७२ पाएको छ। ऐंसेलुखर्क गाउँपालिकालाई ५२.०९ प्राप्त हुँदा केपिलासगढी गाउँपालिकाले ४७.६४ पाएको छ भने साकेला गाउँपालिकाले ४६.०६ अंक पाउँदा खोटेहाङ गाउँपालिका ४२.९२ र दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई ४१.१२ नम्बर परेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयले प्रदेश तथा स्थानीय सरकारलाई वित्तीय समानीकरण अनुदान सिफारिस गर्न कार्यसम्पादन मूल्यांकन गराउँदै आएको छ। विभिन्न १७ सूचक निर्धारण गरेर गरिने मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा आयोगले प्रदेश र स्थानीय सरकारको कार्य सम्पादन मूल्यांकन गर्ने गरेको छ।
आयोगले तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलन, विद्यार्थी भर्ना तथा टिकाउ, विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्ट गरे–नगरेको विषयलाई मुख्य सूचक बनाएको छ। त्यसैगरी आवधिक लेखापरीक्षण, बेरुजु फस्र्योटलगायत सूचकहरू पनि कार्य सम्पादन मूल्यांकनका लागि कार्यान्वयन गर्नुपर्ने प्रावधान रहेका छन्।
