२०८३ भाद्र २७ गते शनिवार

images

सुर्खेतमा तारा एयरको उडान बन्द, कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर

सुर्खेतमा तारा एयरको उडान बन्द, कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर

सहर्ष न्युज
आइतवार, फाल्गुण २५ २०८१
सहर्ष न्युज
आइतवार, फाल्गुण २५ २०८१
  • काँक्रेविहार (सुर्खेत) । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।

    कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो ।

    हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।

    ट्राभल्सका मीनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताउनुभयो ।

    यसैबिच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौं परीक्षण उडान सम्पन्न गरेको छ । शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ । यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गर्नुभएको हो । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो ।

    सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताउनुभयो । परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उहाँले उल्लेख गर्नुभयो ।

    यात्रुको मागलाई दृष्टिगत गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिनुभयो । उहाँले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राख्नुभयो ।

    यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ । सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ ।

    कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर

    सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनः बाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।

    सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन । सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend