काठमाडौँ, । स्थानीयवासीको अवरोधपछि निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ । सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै आएका छन् ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका कर्मचारीका अनुसार सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसननजिक रहेका केही घर आयोजनाकै कारण चर्किएको भन्दै त्यहाँका स्थानीयवासीले क्षतिपूर्ति माग राखी काम अवरोध गरेको जानकारी दिनुभयो ।
निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी रहेको आयोजनाका अर्का कर्मचारीले जानकारी दिनुभयो । तर पटक पटकको अवरोधले समयमा लक्ष्य अनुसारको काम हुन नसक्ने उहाँको भनाइ छ ।
गोरखापत्र समाचारदाता
