काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेपछि नेपाली राजनीतिक तरंगित भएको छ । उक्त समाचार बाहिर आएपछि रास्वपाले उनको विषयमा स्पष्टीकरण समेत दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद थापाले यसअघि नै ‘व्यक्तिगत कानुनी प्रक्रियाहरू समाधान नहुँदासम्म’ केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहने निवेदन दिएको रास्वपा पार्टी स्रोतले जानकारी दियो ।
रास्वपाले थापा अमेरिकी इमिग्रेसन हिरासतमा परेको जानकारी पाएको बताएको छ। पार्टी स्रोतका अनुसार थापाले आफ्नो व्यक्तिगत कानुनी विषयहरू समाधान गर्नुपर्ने भएकाले केही समयका लागि जिम्मेवारीबाट अलग रहने निर्णय लिइसकेको थिए।
पार्टी स्रोतले भन्यो ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागे सम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो।’
थापा रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छन् भने उनीमाथि ढाका कुमार श्रेष्ठसँग पैसाको लेनदेन सम्बन्धी आरोप लागेको थियो ।
उनी अघिल्लो साता अमेरिकामा पक्राउ परेका हुन्। तर, उनलाई के विषयमा पक्राउ गरिएको हो भन्ने बारेमा स्पष्ट जानकारी बाहिर आएको छैन।
