२०८३ भाद्र २७ गते शनिवार

images

ट्रम्प–जेलेन्स्की चर्काचर्कीले विश्व तरङ्गित

ट्रम्प–जेलेन्स्की चर्काचर्कीले विश्व तरङ्गित

सहर्ष न्युज
शनिवार, फाल्गुण १७ २०८१
सहर्ष न्युज
शनिवार, फाल्गुण १७ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिच ओभल अफिसमा भएको चर्काचर्कीलाई युक्रेन–रूस युद्ध अन्त्य गर्ने दिशामा एक धक्काको रूपमा हेरिएको छ। सञ्चारमाध्यम अगाडि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीसँग चर्को बहस गरेका थिए।

    ट्रम्प र भान्सले अमेरिकाका भ्रमणमा रहेका जेलेन्स्कीलाई यति धेरै सहयोगको बाबजुद पनि जेलेन्स्कीले कृतज्ञता व्यक्त नगरेको बताएका थिए।

    ‘तपाईंले लाखौं मानिसहरूको जीवनलाई दाउमा लगाउनुभएको छ। तेस्रो विश्वयुद्धको जोखिम लिइरहनु भएको छ।,’ चर्को स्वरमा अमेरिकी राष्ट्रपतिले भनेका थिए। ‘तपाईं अहिले धेरै राम्रो स्थितिमा हुनुहुन्न। तपाईंले आफूलाई धेरै कठिन परिस्थितिमा पार्नुभएको छ। तपाईंसँग अझै बाजी लगाउन केही छैन। त्यो परिस्थितिसँग तपाईं बहस गर्न सक्नुहुन्न।’

    जवाफमा, जेलेन्स्कीले भनेका थिए, ‘म कुनै कार्ड खेलिरहेको छैन।’

    युक्रेनले रुससँग शान्ति सम्झौता नगरेमा अमेरिका ‘बाहिरिने’ ट्रम्पले चेतावनी दिएका थिए जबकि प्रत्युत्तरमा राष्ट्रपति जेलेन्स्कीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर ‘पुटिनसँग सम्झौता नगर्ने’ बताएका थिए।

    सो वार्तालापमा सहभागी रहेका उपराष्ट्रपति जेडी भान्सले भने, ‘म तपाईंको देशमा भइरहेको विनाशलाई अन्त्य गर्न भइरहेको कूटनीतिको बारेमा कुरा गर्दैछु। तपाईं ओभल अफिसमा आएर मिडियाको अगाडि जुन हिसाबले बहस गरिरहनुभएको तरिका अपमानजनक छ। यस युद्धमा युक्रेनले पनि जनशक्तिको समस्याको सामना गरिरहेको छ।’

    सो वार्तामा क्रममा जेलेन्स्कीले भनेका थिए ‘के तपाईं कहिल्यै युक्रेन आउनुभएको छ ?’ एक चोटि आउनुहोस् अनि थाहा पाउनुहुनेछ कि हामी कस्ता समस्याहरूको सामना गरिरहेका छौं।’

    प्रत्युत्तरमा भान्सले भने ’मैले समाचारहरू हेरेको छु र मलाई थाहा छ कि तपाईं मानिसहरूलाई प्रचार भ्रमण (प्रोपागाण्डा टुर) मा लैजानुहुन्छ। तपाईंसँग सेनामा भर्ती हुन मानिसहरू छैनन् र तपाईं ओभल अफिसमा आउनुहुन्छ र युद्ध रोक्न खोजिरहेको अमेरिकी प्रशासनमाथि आक्रमण गर्नुहुन्छ।’

    यसबारे जेलेन्स्कीले भने, ‘युद्धमा सबैले कठिनाइहरूको सामना गर्नुपर्छ, तपाईंलाई पनि पर्छ।  तर तपाईंले अहिले यो महसुस गर्नहुन्न, तर भविष्यमा गर्नुहुनेछ’ यसबारे ट्रम्पले भने, ‘के महसुस गरिनेछ र के हुनेछैन भनेर तपाईं हामीलाई भन्न जरुरी छैन।’

    वार्ताकै क्रममा जेलेन्स्कीले भान्सलाई ‘तपाईं ठूलो स्वरमा बोलिरहनु भएको छ।’ भनेका थिए।तर लगत्तै ट्रम्पले बीचमा रोक्दै भने, ‘होइन, भान्स ठूलो स्वरमा बोलिरहेका छैनन्।’

    ह्वाइट हाउसका एक अधिकारीका अनुसार उक्त तिक्ततापूर्ण वार्तालाप पछि जेलेन्स्की र ट्रम्प छुट्टाछुट्टै कोठामा गएका थिए। र ट्रम्पले युक्रेनका टिमलाई त्यहाँबाट जान भनेका थिए। युक्रेनी प्रतिनिधिमण्डलले विरोध जनाउँदै वार्ता जारी राख्न चाहेको बताए पनि पुन वार्ता हुन सकेन।

    निर्धारित संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरियो। जेलेन्स्की अमेरिकासँग खनिज इन्धन सम्झौतामा हस्ताक्षर नगरी आफ्नो कालो एसयूभीमा निस्किएका थिए।

    यसैबिच अमेरिकी विदेशमन्त्री रुबियोले सीएनएनलाई दिएको अन्तर्वार्तामा जेलेन्स्कीले माफी माग्नु पर्ने बताएका छन्। रुबियोले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले धेरै महत्त्वपूर्ण सम्झौताहरूलाई टुङ्ग्याउने पक्षमा हुला समेत जेलेन्स्की यति धेरै आक्रामकताका साथ कुरा गर्छन् भने उनीसँग कसले कुरा गर्नेछ ? जेलेन्स्कीले शान्ति सम्झौताको बारेमा कुरा त गर्छन् तर सम्भवतः उनी यो चाहँदैनन्।’

    तर जेलेन्स्कीले माफी माग्न अस्वीकार गरेका छन्। फक्स न्यूजसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘मलाई लाग्दैन कि माफी माग्नु आवश्यक छ। मलाई राष्ट्रपति र अमेरिकी जनताप्रति ठूलो सम्मान छ। मलाई लाग्छ हामी इमानदार हुनुपर्छ र हाम्रा विचारहरूबारे धेरै खुला हुनुपर्छ। मलाई लाग्दैन कि मैले केही गल्ती गरेको छु। लोकतन्त्र र स्वतन्त्र मिडियाको सम्मान गर्दै, म भन्न चाहन्छु कि केही कुराहरू मिडियाबाट अलग छलफल गरिनुपर्छ।’ 

    विश्वव्यापी प्रतिक्रिया

    कतिपय अमेरिकी मिडियाका अनुसार यसअघि कहिल्यै पनि कुनै अमेरिकी राष्ट्रपतिले पाहुनाप्रति यति आक्रामक व्यवहार गरेका थिएनन्, जसरी जेलेन्स्कीप्रति ट्रम्प रिसाएका थिए।

    ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग विना उसकै अवस्थामा छाड्ने धम्की समेत दिएका थिए।  यसैगरी यो घटना पश्चात् विश्वका नेताले विभिन्न प्रतिक्रिया दिएका छन्। कतिपय युरोपेली देशका नेताहरूले युक्रेनलाई समर्थन गरेका छन्। यसैबीच, केही अमेरिकी सांसदहरूले पनि ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई दोष दिएका छन्।

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्, ‘रुसले युक्रेनमाथि गैरकानूनी र अन्यायपूर्ण रूपमा आक्रमण गरेको छ। तीन वर्षदेखि युक्रेनले साहस र लचिलोपनका साथ प्रतिकार गरेको छ। लोकतन्त्र, स्वतन्त्रता र सार्वभौमिकताको लागि उनीहरूको लडाई सबैका लागि महत्त्वपूर्ण लडाई हो।’

    ट्रुडोले क्यानडाले युक्रेनलाई आफ्नो समर्थन जारी राख्ने बताएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंनले रुसले आक्रमण गरेको र युक्रेनका जनतामाथि आक्रमण भएको बताएका छन्। ट्रम्प र जेलेन्स्कीबीचको बहसको बारेमा सोध्दा उनले भने, ’हामीले सुरुदेखि नै लडिरहेकाहरूलाई सम्मान गर्नुपर्छ।’

    ‘युक्रेनी साथीहरू, तपाईंहरू एक्लो हुनुहुन्न,’ पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्। यसैगरी स्पेनका स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले लेखेका छन्, ‘युक्रेन, स्पेन तिम्रो साथमा उभिएको छ।’

    यसैगरी नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले लेखेका छन्, ‘हामी युक्रेनको पक्षमा छौं र यस द्वन्द्वमा दिगो शान्तिको पक्षमा छौं।’

    स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले पनि युक्रेनलाई समर्थन गरेका छन्। उनले भने, ‘स्वीडेन युक्रेनको साथमा उभिएको छ। तपाईंहरू आफ्नो लागि मात्र होइन सम्पूर्ण युरोपको स्वतन्त्रताको लागि लडिरहनुभएको छ।’

    उक्त चर्काचर्की पछि बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेका छन्। लन्डनस्थित १० डाउनिङ स्ट्रिटका प्रवक्ताले भने ‘युक्रेनको लागि हाम्रो समर्थन जारी छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend