२०८३ भाद्र २७ गते शनिवार

images

विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १६ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपियाँ आम्दानी गरेको छ ।

    विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपियाँ खर्च गरिएको छ । यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपियाँ हुने प्रक्षेपण गरिएको छ ।

    आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपियाँ नाफा आर्जन गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ ।

    प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपियाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ ।

    खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपियाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपियाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा एक अर्ब ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपियाँ आम्दानी गरिएको छ । 

    यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्ब ३५ करोड रुपियाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्ब ४९ करोड रुपियाँ खर्च भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend