२०८३ भाद्र २८ गते आइतवार

images

प्रतिनिधि सभामा विचाराधीन दुई प्रहरी विधेयकमा एक सयभन्दा बढी संशोधन

प्रतिनिधि सभामा विचाराधीन दुई प्रहरी विधेयकमा एक सयभन्दा बढी संशोधन

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १६ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १६ २०८१
  •  

    काठमाडौँ । प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् । व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् । नेपाल प्रहरी विधेयकउपर ५२ र सशस्त्र प्रहरीको विधेयकमा ६४ संशोधन दर्ता भएका हुन् । सशस्त्रको विधेयकमा संशोधन दर्ताको समयसीमा बिहीबार साँझसम्म थियो । 

    प्रतिनिधि सभा विधेयक शाखाका उपसचिव त्रिविक्रम पराजुलीले बिहीबार तोकिएको समयसीमामा सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन दर्ता भएको जानकारी दिनुभयो । नेपाल प्रहरी विधेयकमा संशोधन दर्ताको समय भने यसअघि नै सकिएको थियो । सैद्धान्तिक छलफलपछि विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत भएका थिए ।

    दुवै प्रहरी विधेयकमा प्रस्तावनादेखि नै संशोधन दर्ता भएका छन् । केही संशोधन अधिकार बाँडफाँटको स्पष्टताका लागि दर्ता भएका छन् । दुवै प्रहरीको नियन्त्रण, सुपरीवेक्षण, सञ्चालनका विषयमा पनि संशोधन दर्ता छन् । सरुवा, बढुवाको अधिकार, कार्यसम्पादन मूल्याङ्कनको अङ्क दिने विषय, पदपूर्तिको प्रावधानलगायतका विषयमा पनि दुवै विधेयकमा संशोधन परेका छन् । 

    विधेयक मसौदामा भएका केही अस्पष्ट प्रावधान सच्याउन पनि संशोधन परेका छन् । प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाबाहेकका अन्य विषयमा पनि प्रहरीलाई निर्देशन दिन सक्ने आसयमा मसौदा भएको भन्दै स्पष्टताका लागि संशोधन दर्ता भएका छन् । उक्त व्यवस्थाले अपराध अनुसन्धान प्रक्रियामा असर पर्ने सांसदहरूको जिकिर छ । 

    यस्तै बढुवाका आधार र पदपूर्तिको प्रक्रियामा पनि संशोधन परेका छन् । बढुवाको ज्येष्ठतालाई पहिलो प्राथमिकता दिनुपर्ने संशोधन परेको छ । सुरक्षा निकायको पदपूर्ति सेवा आयोगमार्फत हुनुपर्ने पनि संशोधन परेका छ । पदपूर्तिको विद्यमान प्रतिशत निर्धारण हेरफेरको पक्षमा पनि सांसदहरूले संशोधन दर्ता गरेका छन् । प्रहरी सङ्गठनभित्रका सेवा, समूह र उपसमूह गठन र अधिकारका विषयमा पनि संशोधन दर्ता छन् । प्रहरीको बढुवा राजपत्राङ्कित प्रथम श्रेणी सरहसम्म महानिरीक्षकलाई अधिकार हुनुपर्ने गरी पनि संशोधन दर्ता भएको छ । 

    प्रहरी अधिकृतको सेवा अवधि, पेन्सन अवधि र अनिवार्य अवकाशका प्रस्तावित व्यवस्था परिमार्जनका लागि पनि संशोधन दर्ता भएका छन् । 

    आइजिपीको नियुक्ति एआइजीबाटै अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्थाका लागि संशोधन दर्ता भएका छन् । एआइजी नभएमा डिआइजीबाट पनि नियुक्तिको विकल्प खुला राख्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छन् । 

    प्रहरी विशेष अदालतलाई न्यायिक बनाउने गरी पनि संशोधन प्रस्ताव गरिएको छ । उच्च अदालतको न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष बनाउने गरी संशोधन दर्ता छन् । प्रस्तावित विधेयकमा न्याय सेवाको सचिवलाई सरकारले अध्यक्ष तोक्ने व्यवस्था छ । 

    दुई प्रहरीको अधिकार क्षेत्रको दोहोरोपन हटाउने गरी दुवै विधेयकमा संशोधन दर्ता छन् । नेपाल प्रहरीलाई अपराध अनुसन्धान र शान्ति सुरक्षाको अधिकार केन्द्रित हुनुपर्ने प्रस्ताव सांसदहरूको छ । यस्तै सशस्त्रको हकमा सीमा सुरक्षालगायत विषयलाई काम, कर्तव्य र अधिकारमा स्पष्ट पार्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend