२०८३ भाद्र २७ गते शनिवार

images

अढाइ महिनादेखि उडान ठप्प सुकेटार विमानस्थल अझै उडान सुचारु भएन

अढाइ महिनादेखि उडान ठप्प सुकेटार विमानस्थल अझै उडान सुचारु भएन

सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
  •  

    ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाइ महिनादेखि उडान ठप्प भएको छ । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा समस्या आएका कारण सुकेटार विमानस्थलमा उडान ठप्प भएको हो । 

    पछिल्लो समय सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको उडान हुने गरेको थियो । गत पुस महिनायता भने सुकेटारमा उडान हुने ट्विनअटर जहाजमा समस्या आएपछि उडान ठप्प भएको हो । 

    ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायण कार्कीका अनुसार गत मङ्सिर २८ गतेदेखि सुकेटारमा उडान ठप्प भएको छ । 

    इन्चार्ज कार्कीले मङ्सिर २८ पछि पुस ५ गतेका लागि उडान तालिका रहेकोमा उक्त दिनको मौसम प्रतिकुल हुँदा उडान सफल हुन सकेको बताउनुभयो । उहाँका अनुसार पुस ५ गते काठमाडौंदेखि यात्रु लिएर सुकेटारका लागि उडेको जहाज खराब मौसमका कारया अवतरण हुन नसकी काठमाडौं नै फर्किएको थियो । अझै उडान सञ्चालन हुने विषय अनिश्चित रहेको पनि उहाँले बताउनुभयो ।

    देशका पहाडी तथा हिमाली जिल्लामा रहेका विमानस्थलहरुमा उडान भर्ने निगमको दुई वटा ट्विनअटर जहाजमा समस्या आएपछि उडान ठप्प भएको हो । जहाज पुरानो भएकाले समस्या आएको बताइएको छ । 

    कार्कीका अनुसार निगमसँग भएको ट्विनअटर जहाजमा समस्या आएपछि गत पुस ७ गतेदेखि ताप्लेजुङको सुकेटार विमानस्थलसहित देशभर उडान ठप्प भएको छ । ग्राउन्डेड भएको जहाजको हाल मर्मत तथा सामान परिवर्तन गर्ने काम भइरहेको पनि निगमले जनाएको छ ।

    सुकेटार विमानस्थलमा एकमात्र नेपाल वायु सेवा निगमले हप्तामा एक दिन प्रत्येक शुक्रबार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान सञ्चालन गर्दै आएको थियो । निगमको उक्त उडान पनि अढाइ महिनादेखि ठप्प हुँदा यात्रु मारमा परेका छन् । 

    उडान नहुँदा ताप्लेजुङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक साथै सर्वसाधारण यात्रुले हवाई सेवाबाट बञ्चित हुनुपरेको छ । अब मर्मत सम्भारपछि हाल ग्राउन्डेड रहेको ट्विनअटर दुवै जहाज सञ्चालनमा आए हप्तामा तीन उडान हुनसक्ने पनि स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend