२०८३ भाद्र २७ गते शनिवार

images

नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन हुने पक्का जस्तै

नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन हुने पक्का जस्तै

सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण १४ २०८१
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गर्ने विधेयक प्रतिनिधि सभामा पेस भएको छ ।

    उक्त विधेयक पास भएमा हवाई क्षेत्रको नियामक र सेवाप्रदायक निकाय फरक बनाउने बाटो खुल्छ । माघ १९ गते सचिवालयमा दर्ता भएका विधेयक मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पेस गर्नुभएको हो । अहिले क्यानले नै नियामक र सेवाप्रदायक दुवै भूमिका निर्वाह गरिरहेको छ । स्वायत्त संस्थाका रूपमा दुई फरक निकाय प्रस्तावित भएका हुन्  ।

    सरकारले क्यान विभाजन विधेयक दोस्रो पटक संसद्मा ल्याएको हो । सङ्घीय संसद्को अघिल्लो कार्यकालमा राष्ट्रिय सभामा दर्ता भई पारित भए पनि प्रतिनिधि सभाको कार्यकाल सकिएपछि यो विधेयक निष्क्रिय भएको थियो । विधेयक पेसअघि कुनै पनि विरोधको सूचना दर्ता भएका थिएनन् ।

    नियामक र सेवाप्रदायक फरक हुनुपर्ने बहस चले पनि झन्डै दशकदेखिको प्रयासमा कानुनी संरचना भने बन्न सकेको छैन । विधेयक पारित र प्रमाणीकरण भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ खारेज हुने छ । सन् २००९ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को युनिभर्सल सेफ्टी अडिट प्रोग्रामले प्राधिकरणले गरिरहेको नियामक र सेवाप्रदायकको भूमिका प्रश्न उठाएको थियो ।

    त्यसयता पनि निरन्तर उक्त सवाल उठाउँदै दुई फरक निकाय बनाउन सिफारिस गरेको थियो । पछिल्लो पटक २०२२ मा भएको अडिटले सेवाप्रदायक र नियामक छुट्याउन सिफारिस भएको थियो । संसद्बाट नयाँ कानुन पारित भएमा आइकाओ र युरोपेली सङ्घको उडान सुरक्षा चासो सम्बोधन हुने पनि विश्वास गरिँदै आएको छ । लामो समयदेखि नेपाल युरोपेली सङ्घको कालो सूचीमा समेत छ ।

    प्रस्तावित विधेयक अनुसार नियामक नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको नेतृत्व विभागीय मन्त्रीबाट हुने छ । यस्तै हवाई सेवा प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष मन्त्रालयको सचिव हुने व्यवस्था छ । नियामक र सेवाप्रदायक दुवै संस्थाको सञ्चालक समितिमा विभागीय मन्त्रालयको कमान्ड रहने छ ।

    प्रस्तावित विधेयक अनुसार नियामकका रूपमा नागरिक उड्डयन प्राधिकरणले नै काम गर्ने छ । प्राधिकरणलाई सेवाप्रदायक संस्थालाई प्रमाणपत्र जारी गर्ने, नवीकरण गर्ने र प्रमाणपत्र निलम्बन तथा खारेज गर्ने अधिकार हुने छ । प्राधिकरणको दैनिक प्रशासनिक कामका लागि सरकारले कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी सरहको कर्मचारीलाई नियुक्त गर्ने व्यवस्था छ ।

    यस्तै विधेयकमा हवाई सेवालाई प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरण प्रस्ताव गरिएको छ । प्राधिकरणले सेवा क्षेत्रमा काम गर्ने छ । विमानस्थल निर्माण, स्तरोन्नति, सञ्चालन तथा व्यवस्थापनको अधिकार प्राधिकरणलाई हुने छ । ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन, उडान तालिका र अनुमतिलगायतका अधिकार पनि सेवा प्राधिकरणलाई हुने छ ।

    प्राधिकरणको प्रबन्ध निर्देशक खुला प्रतिस्पर्धाका आधारमा गर्ने प्रस्ताव सरकारले गरेको छ । प्रबन्ध निर्देशक थप एक कार्यकालका लागि पुनः नियुक्त हुने व्यवस्था पनि प्रस्तावित छ । विधेयकले प्रत्यायोजित विधायन अनुसार प्राधिकरणलाई नियम बनाउने क्षेत्र पनि तोक्ने प्रस्ताव गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend