२०८३ श्रावण ११ गते सोमवार

images

थप तीन नयाँ अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान सेवा प्रदान गर्ने

थप तीन नयाँ अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान सेवा प्रदान गर्ने

सहर्ष न्युज
आइतवार, फाल्गुण ११ २०८१
सहर्ष न्युज
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौं । थप तीनवटा नयाँ अन्तर्राष्ट्रिय हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्ने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर थप तिनीहरुले नियमित उडान गर्ने तयारी थालेका हुन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयर इन्डिया एक्सप्रेस, स्पाइस जेट र आकाशा एयरले काठमाडौँमा नियमित व्यावसायिक उडान भर्ने भएका हुन् ।

    एयर इन्डिया एक्सप्रेसले हप्ताको चार वटा (महिनामा २८) र स्पाइस जेटले दैनिक एक उडानको अनुमति पाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । आकाशा एयर पनि नेपालमा उडान गर्न इच्छुक देखिएकाले उडान अनुमतिको प्रक्रियामा रहेकाले कति वटा उडान अनुमति दिने भन्ने टुङ्गो लाग्न बाँकी उहाँको भनाई छ । त्यस्तै एयर इन्डिया एक्सप्रेसले भारतको कोलकाता, बैङ्ग्लोर, मुम्बई र देहरादुनबाट नेपालमा उडान गर्ने गरी अनुमति मागे पनि हाललाई कोलकाताबाट उडान गर्ने गरी अनुमति दिएको उहाँ बताउनुहुन्छ ।

    उहाँका अनुसार एयर इन्डिया एक्सप्रेसले फागुन १७ देखि र स्पाइस जेटले फागुन २८ देखि काठमाडौँमा नियमित उडान सुरु गर्ने छन् । भारतको राष्ट्रिय वायु सेवा कम्पनी एयर इन्डियाको भगिनी संस्था एयर इन्डिया एक्सप्रेस र भारतको छैटौँ ठुलो हवाई कम्पनी स्पाइस जेटले नेपालमा नियमित उडान थालेपछि नेपाल भित्रिने र नेपालबाट भारत जाने यात्रुलाई थप सुविधा हुनुका साथै पर्यटकको आगमनमा समेत बढोत्तरी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    प्राधिकरणका अनुसार हाल नेपालमा १५ देशका २८ हवाई कम्पनी (तीन नेपाली कम्पनीसहित) ले अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका छन् । आकाशा एयरले अनुमति पाएसँगै नेपालमा हवाई सेवा दिने वायु सेवा कम्पनीको सङ्ख्या ३१ पुग्ने प्राधिकरणले जनाएको छ । हाल नेपालमा अन्तर्राष्ट्रियतर्फ सबैभन्दा बढी चिनियाँ स्वामित्वका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउथर्न एयरलाइन्स र सिचुवान एयरलाइन्स गरी चार वटा कम्पनीका वायुयानले उडान भर्दै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend