काठमाडौँ । ‘महजोडी’ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको बताएका छन् । सामाजिक सञ्जालमा उनीहरुले एूएसएडको पैसा लिएर घर्म परिवर्तन गराउन भुमिका खेलेको आरोप लागेपछि उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत सो आरोपको खण्डन गरेका हुन् ।
उनीहरुले आफूबारे भइरहेको अनर्गल प्रचारले दुखि बनाएको र त्यस्ता कार्यमा आफूहरुको संलग्न नगरेको बताएका छन् । त्यस्तै उनीहरुले आफूहरुले निर्माण गरेका सामाग्रीहरु अझै पनि उपलब्ध हुने र सो हेर्न अनुरोध समेत गरेका छन् । ‘‘हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ ।’’, मदनकृष्णले भनेका छन्, ‘‘संसारमा राम्रा कुरा पनि छन्, नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।’’
त्यस्तै उनीहरुले यूएसएडको कुरा आउँदा मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने लगायत थुप्रै सचेतनामूलक कार्यक्रम बनाएको र त्यसका कहीँ पनि कुनै धर्मको प्रचार नगरिएको बताएका छन् । ‘‘यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।’’, हरिवंशले भनेका छन् ।
त्यस्तै उनीहरुले आफूहरुले २०५२ सालमा बनाएको एक कार्यक्रम अहिले ल्याएर भाइरल गराएर आफूहरुले सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताए । आफूहरुले बनाएको ‘पञ्चायती व्यवस्थाको श्राद्धे’मा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको विषयलाई भाइरल गराइएको भन्दै आचार्यले भने, ‘‘२०५२ सालमा हामीले ‘पञ्चायतको सराद्धे’ भन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्यौँ भन्नु कपोलकल्पित हो ।’’
त्यस्तै उनीहरुले यस्ता विषयले आफूहरुलाई हतोत्साहित नगराउने र नेपाली जनतालाई समेत यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न अनुरोध गरेका छन् ।
