२०८३ श्रावण ११ गते सोमवार

images

रोजगारका लागि एक सय उनन्चास देश खुला, दस वटासँग सम्झौता

रोजगारका लागि एक सय उनन्चास देश खुला, दस वटासँग सम्झौता

सहर्ष न्युज
मंगलवार, माघ २९ २०८१
सहर्ष न्युज
मंगलवार, माघ २९ २०८१
  • काठमाडौँ । नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मसौदालाई टुङ्गो लगाएको छ । 

    पाँच देशसँगको मसौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले साउदी अरब, मलेसिया, कतार र ओमानको मसौदा आदानप्रदानको काम टुङ्गो लागेको जनाएको छ । मन्त्रालयका अनुसार चार वटै देशका सरकारलाई मसौदा पठाइसकेको र हस्ताक्षर हुन बाँकी रहेको जनाएको छ । साउदी अरबसँग श्रम सम्झौता टुङ्गो भर्खर लागेको छ ।

    गत साता साउदी अरबको भ्रमण फर्किएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले साउदी अरबसँगको श्रम सम्झौताका लागि नेपाल र साउदीका अधिकारीले बनाएको मसौदामा सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार साउदीमा नेपाली श्रमिकले भोग्नु परेका समस्याको समाधानका लागि पनि छिट्टै श्रम सम्झौता गर्नु पर्छ भनेका छौँ । यस विषयमा साउदी सरकार सकारात्मक छ ।

    साउदीले घरेलु महिला श्रमिकसँगै २९ क्षेत्रमा नेपाली श्रमिक लैजाने प्रस्ताव गरेको छ । दुवै देशले कानुनी प्रक्रिया पूरा गरेपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ । 

    त्यसो त गत माघ अन्तिम साता संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित आबुधाबी डाइलगको साइड लाइन बैठकमा श्रममन्त्री भण्डारी र साउदी समकक्षीबिचको वार्तामा श्रम सम्झौतालाई एक महिनाभित्र टुङ्ग्याउने गरी दुवै पक्षले सिधै समन्वय गर्न ‘फोकल पर्सन’ तोकेको थियो । 

    साउदीले नेपालबाट घरेलु श्रमिक लैजानेमा बढी केन्द्रित भएको र नेपालले साउदीमा घरेलु श्रमिक पठाउन प्रतिबन्ध फुकुवा नगरेका कारण श्रम सम्झौता कार्य अगाडि बढ्न सकेको थिए । वैदेशिक रोजगार विभागका अनुसार साउदीमा करिब साढे तीन लाख नेपाली श्रमिक रहेका छन् । श्रम मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को ऐन अनुसार श्रम सम्झौता गर्ने तयारी भइरहेको छ । 

    नेपालले श्रम सम्झौता गरेका श्रम गन्तव्य देश क्रमशः सन् २००५ कतार र सन् २०१८ मा मलेसियाले भने परिमार्जनसहित पुनः सम्झौताको टुङ्गोमा पुग्ने क्रममा छन् । त्यसबाहेक संयुक्त अरब इमिरेट्स (युएई) (२०१९), दक्षिण कोरिया (२००७), बहराइन (२००८), जापान (२०१९), इजरायल (२०२०), जोर्डन (२०१७), मोरिसस (२०१९), बेलायत (२०२२), जर्मनी (२०२३) र रोमानिया (२०२३) सँग सम्झौता भइसकेको छ  । साउदीसँग नेपालले पटक पटक श्रम सम्झौताका लागि प्रयास गर्दासमेत सम्पन्न हुन सकेको छैन । 

    वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले यस पटक साउदीसँगको श्रम सम्झौता हुनेमा धेरै आशावादी हुने आधार देखिएको बताउनुभयो । श्रम मन्त्रालयले पछिल्लो पटक टर्की, लेबनान, कुवेत, स्पेन, जर्मन, ब्रुनाईबिचको प्रस्तावित श्रम मसौदा टुङ्गोमा पुर्‍याउन पटक पटक प्रयास गरिरहेको छ । 

    श्रम मन्त्रालयले सबै देशसँग गरिने श्रम सम्झौताको एउटा निश्चित मापदण्ड बनाएको र सोही मापदण्ड अनुसार मात्रै श्रमिक पठाउने गरी सम्झौता गर्ने दाबी गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend