२०८३ भाद्र २७ गते शनिवार

images

वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोकिए : विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो

वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र सैन्य हेलिकप्टर ठोकिए : विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो

सहर्ष न्युज
बिहिवार, माघ १७ २०८१
सहर्ष न्युज
बिहिवार, माघ १७ २०८१
  • वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।

    स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो। चालकदलका चार र ६० जना यात्रु रहेका उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो।

    विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान आरम्भ भएको छ। सरकारी निकायहरूले उक्त दुर्घटनामा कति जना हताहत भए भन्ने औपचारिक जानकारी दिइसकेका छैनन्। तर प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी साझेदार सीबीएसले विमान खसेको स्थानमा १८ वटा शव फेला परेको जनाएको छ।

    अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

    एफएएले उक्त विमान रेगन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको जानकारी सीबीएस न्यूजलाई दिएको छ। दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको 'ब्ल्याक हक' भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले सीबीएसलाई बताएका छन्। उक्त हेलिकप्टर तालिममा प्रयोग गरिएको अमेरिकी सेनाले पुष्टि गरेको छ।

    नाम उल्लेख नगर्ने सर्तमा अर्का एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई ती सैनिकहरूको अवस्था अज्ञात रहेको जानकारी दिएका छन्। उनका अनुसार उक्त हेलिकप्टरमा वरिष्ठ सैन्य अधिकारी थिएनन्।

    वाशिङ्टन डीसीमा रात्रिकालीन तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण बनेको छ।

    विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई "उक्त भयानक दुर्घटनाबारे पूरा जानकारी" दिइएको बताएका छन्। उनले दुर्घटनापछि तत्काल गरिएको प्रतिकार्यको प्रशंसा गरेका छन्।

    "मैले परिस्थितिको निगरानी गरिरहेको छु र थप जानकारी आएपछि विवरण उपलब्ध गराउने छु।"

    अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।

    दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

    उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

    विमानस्थल बन्द

    बीबीसी संवाददाताहरूका अनुसार रेगन विमानस्थलभन्दा पछाडिपट्टि रहेको भागमा खोजी तथा उद्धारकार्य भइरहेको देखिएको छ।

    उक्त अभियानमा स्थानीय प्रहरी, सङ्घीय अधिकारीहरू र अन्य विभिन्न निकाय संलग्न छन्।

    पोटोम्याक नदीमा खोजी तथा उद्धारकार्यका क्रममा बत्ती बलेको देखिन्छ तर विमानस्थल चाहिँ चकमन्न छ। दुर्घटनास्थलको हवाईगस्ती गर्दै गरेको एउटा हेलिकप्टरबाहेक आकाशमा अरू कुनै विमान छैन।

    उक्त विमानस्थलतिर आउन लागेका विमानहरूलाई डलस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ। हवाईयात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अवेरसम्म चल्ने भएको छ।

    दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाउने भएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend