२०८३ भाद्र २८ गते आइतवार

images

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा

सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
सहर्ष न्युज
मंगलवार, माघ १५ २०८१
  •  

    नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरे। गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन्। मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ।  

    चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ। नगरपालिकाबाट प्रदान गरिने  सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ।

    कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिँदै विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए।

     प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य  आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउँदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत प्रदान गरिँदै लगिने बताए। नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिमैत्री बन्नुपर्छ भनिन्।

    सहायक प्रमुख  जिल्ला अधिकारी काठमाडौँका मुक्तिराम रिजालले काठमाडौँ उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेकामा नगरपालिकालाई धन्यवाद दिँदै यो सेवा काठमाडौँका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए।  

    गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ। हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ। चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend