२०८३ भाद्र २७ गते शनिवार

images

सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याइदै

सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याइदै

सहर्ष न्युज
बुधवार, माघ ९ २०८१
सहर्ष न्युज
बुधवार, माघ ९ २०८१
  • काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानुनमा समावेश हुने बताउनुभएको छ।

    बुधबार काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश घोषणा गर्नुभयो। 

    उहाँले सम्पूर्ण अधिकृतदेखि जवान समेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको उल्लेख गर्नुभयो। उहाँले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरामा जोड दिइरहेको बताउनुभयो। सशस्त्र प्रहरी बल नेपालको कानुनलाई केही दिनमै विधेयकका रूपमा संसदमा दर्ता गर्ने बताउनुभयो। 

    गृहमन्त्री लेखकले भन्नुभयो, ‘म गृहमन्त्रीको जिम्मेवारीमा आइसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरालाई जोड दिँदै आएको छु। हामी केही दिनमा सम्बन्धित विधेयकलाई सङ्घीय संसदमा दर्ता गर्नेछौँ। सम्पूर्ण अधिकृतदेखि जवान समेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको छ। लामो समयदेखि सशस्त्र प्रहरी जवानले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिनेछ। यो कुरा आजको विशेष दिनमा सशस्त्र प्रहरी बल नेपालका सक्कल दर्जाको अगाडि राख्न पाउँदा खुसीको अनुभव गरिरहेको छु।’

    कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताउनुभयो। सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई सङ्गठनले प्राथमिकतामा राखेर कार्य सञ्चालन गरिरहेको बताउनुभयो। 

    हालसम्म नेपालले मर्मत गर्नुपर्ने दुई हजार ३०८ वटा सीमा स्तम्भको मर्मत सम्पन्न गरिसकेको बताउनुभयो। सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायसँग नियमित बैठक आयोजना गरी सौहद्रपूर्ण साङ्गठनिक समन्वयका साथ सहकार्य गरिरहेको बताउनुभयो। राज्यको सीमा सुरक्षा पहराले मात्र बलियो नहुने भन्दै सीमा क्षेत्रका नागरिकको मन, मस्तिष्क र विश्वास जितेर परिचालित हुनसके उनीमा समेत सीमा सुरक्षाको सम्बन्धमा जिम्मेवारी बोध हुने उल्लेख गर्नुभयो। 

    महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका जवानले जागिर नभई सेवा गर्नुपर्ने भावनाका साथ काम गरिरहेको बताउनुभयो। नागरिकको मन, मस्तिष्क जित्ने अभियानमा सबै लाग्नुपर्ने ध्येयका साथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम गरिरहेको बताउनुभयो।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend