२०८३ भाद्र २८ गते आइतवार

images
  • प्रमुख समाचार
  • सरकारमा कांग्रेस–एमालेबिच कुनै समस्या नरहेको गृहमन्त्री...

सरकारमा कांग्रेस–एमालेबिच कुनै समस्या नरहेको गृहमन्त्री लेखकको दाबी

सरकारमा कांग्रेस–एमालेबिच कुनै समस्या नरहेको गृहमन्त्री लेखकको दाबी

सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
सहर्ष न्युज
बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकारमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग कार्यप्रगति विवरणबारे जानकारी गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले कांग्रेस र एमाले सम्मिलित सरकारमा कुनै बाधा, व्यवधानहरु नरहेको जिकिर गर्नुभयो । उहाँले सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

    नेकपा एमाले र नेपाली कांग्रेसको बिचमा बनेको सात बुँदे सहमतिअनुसार अहिलेको सत्तासमीकरणलाई अघि बढाउने र राम्रो ढङ्गबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो । मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने कुरामा केन्द्रित भएर काम गर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ ।

    ‘‘नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रो बिचमा कुनै समस्या छैन । दुई दलको सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अप्ठ्याराहरु छैनन् । आफ्ना आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने ? भन्ने कुरामा छलफल भएको छ ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘नेकपा एमाले र नेपाली कांग्रेस बिचमा बनेको सात बुँदे सहमतिअनुसार यो समीकरणलाई लिएर अघि बढ्ने कुरामा नै केन्द्रित भएर काम गर्ने हो, सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा, राम्रो ढङ्गबाट प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने कुरामा केन्द्रित भएर काम गर्ने विषयमै छलफल भएको छ । हामी दुई दलका बिचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निष्कर्ष हो ।’’

    गृहमन्त्री लेखकले काठमाडौं जिल्ला अदालत परिसरमा बुधबार अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपात निन्दनीय भएको बताउनुभयो । उहाँले अराजक गतिविधि गर्नेलाई कारबाही हुने जानकारी दिनुभयो । उहाँले नेपालमा व्यावसायिक स्वतन्त्रता रहेको बताउनुभयो । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा थुनछेक बहस सकिएपछि बाहिर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो ।

    ‘‘जोसुकैले गरे पनि यो देशमा लोकतन्त्र छ । व्यावसायिक स्वतन्त्रता छ । मानिसले आफ्नो आफ्नो व्यवसाय गर्न पाउँछ । वकिलले वकालत गर्न पाउँछ, डाक्टरले डाक्टरको काम गर्न पाउँछ ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘बिजनेसम्यानले व्यापार गर्न पाउँछ । त्यसमा बाधा, व्यवधान गर्ने, उच्छृङ्खलता गर्ने, अराजकता गर्ने, कानुन विपरीत काम गर्ने, जोसुकैलाई पनि दण्डित गरिन्छ । जहाँसम्म दिनेश त्रिपाठीमाथि घटना भएको छ । यो अत्यन्त निन्दनीय काम हो । अत्यन्त गलत काम भएको छ । यस्तो अराजकता गर्ने जोसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’’

    गृहमन्त्री लेखकले पुनः सर्च कमिटी बनाएर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई वटै आयोग गठन गर्ने पनि जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend