२०८३ श्रावण ११ गते सोमवार

images

सिद्धबाबा सुरुङमार्गको एक हजार १२६ मिटर सुरुङ छिचोल्ने काम अन्तिम चरणमा

सिद्धबाबा सुरुङमार्गको एक हजार १२६ मिटर सुरुङ छिचोल्ने काम अन्तिम चरणमा

सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
सहर्ष न्युज
बिहिवार, पौष २५ २०८१
  •  

    तानसेन । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ । केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने आयोजनाको कार्यालय बुटवलले जनाएको छ । 

    हालसम्म एक हजार ८१ मिटर सुरुङ खनिसकिएको छ । बाँकी आठ मिटर सुरुङ छिचोल्न बाँकी रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फ ४७७ र दक्षिणतर्फ ६०४ मिटर सुरुङ खनेर सकिएको अधिकारीले जानकारी दिनुभयो । 

    मुख्य सुरुङ खन्न केही मिटर मात्रै बाँकी रहेको र केही दिनभित्रै औपचारिक कार्यक्रम गरी घोषणा गर्न भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वयको काम भइरहेको छ । उहाँका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ३८.८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत सम्पन्न भएको छ ।

    सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । यस्तै सुरुङमार्गको उत्तरतर्फ र दक्षिणतर्फको बाहिर सडक स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी नै छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ । सुरुङमार्ग छिचोल्नासाथ बाहिरपट्टिको कामले गति लिने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताउनुभयो । 

    सुरुङमार्गका तीन वटा बाइपास ढोका यसअघि नै ब्रेक थ्रु भइसकेको छ । आयोजनाका अनुसार पहिलो बाइपास ढोका १५१ मिटर, दोस्रो बाइपास ढोका १६१ मिटर र तेस्रो बाइपास ढोका १३० मिटर खनेर सकिएको छ । तीन वटै बाइपास ढोका यही पुस ७ गतेअघि नै छिचोलिएको आयोजनाको कार्यालयले जनाएको छ । दुई वर्षअघिदेखि सिद्धार्थ राजमार्गको तिनाउ–३, दोभान क्षेत्रमा सुरुङमार्गको काम भइरहेको छ । 

    पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । दुई वर्षसम्म बाहिरी भागमा प्रारम्भिक काम गरेको निर्माण कम्पनीले पछिल्लो एक वर्षभित्र बाइपास ढोका र मुख्य सुरुङ छिचोल्न लागेको ज्ञवालीले बताउनुभयो । 

    सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट पटक पटक पहिरो खसेर मानिसको मृत्युसमेत भएपछि यात्रु यात्रा गर्न डराएका छन् । सुरुङ बनेपछि भने यात्रुले सुरक्षित यात्रा गर्न पाउने आशा गरेका छन् । सुरुङमार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend