काठमाडौं । चीनको तिब्बतमा शक्तिशाली भूकम्पबाट प्रभावित स्थानमा जारी खोजीमा सहभागी हुन १४,००० भन्दा बढी उद्धारकर्मी पुगेका छन्। मङ्गलवार बिहान गएको भूकम्पका कारण त्यहाँ सयौँ घर भत्किएका र कम्तीमा १२६ जनाको मृत्यु पुष्टि भएको छ।
भूकम्पले सयौँ घर भत्काउँदा धेरै मानिस पुरिएको आशङ्का गरिएको छ। तर त्यस्ता मानिसको सङ्ख्या स्पष्ट हुन सकेको छैन। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ४०० जनाभन्दा बढीको उद्धार गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमामा अवस्थित सगरमाथाबाट झन्डै ९० किलोमिटर टाढा छ। एउटा फल्ट लाइनमा पर्ने उक्त क्षेत्रमा भूकम्पीय गतिविधि भइरहन्छ।
यो केही वर्षयता चीनमा गएका विनाशकारी भूकम्पमध्ये पर्छ। बुधवार चीनका उपप्रधानमन्त्री जाङ ग्वचिङ उद्धारकार्यको निरीक्षण गर्न तिब्बत पुगे।
