काठमाडौं । निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि काठमाडौं महानगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।
पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपुर्याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको छ । छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुखको जिम्मेवारी शर्माले पाएका थिए ।
महानगरका प्रवक्ता नवीन मानन्धर र मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले ५ पुसमा पत्रकार सम्मेलन गरी प्रक्रिया नै पूरा नगरी काठमाडौं टावरको नक्सा स्वीकृति दिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने जनाएका थिए ।
नक्सापास विवादमा महानगरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी सदस्य छन् ।
महानगर स्रोतका अनुसार मेयर साहले नै छानबिन भइन्जेल कार्यालय नआउनू भन्दै बिदा बस्न भनेका थिए । १७ पुससम्म बिदामा बसेका गुरागाईं कार्यालय आउने तयारी गरेपछि बालेनको सचिवालयले उनको कार्यकक्षमै ताला लगाइदियो । वातावरण नबनेपछि उनी अहिलेसम्म कार्यालय गएका छैनन् ।
गुरागाईंले प्रशासन विभागमा सम्पर्क गरी आफू आउनका लागि वातावरण बनाइदिन आग्रह गरे पनि कार्यकक्षमा ताला लगाएको जानकारी पाएपछि उनी आउन सकेका छैनन् ।
महानगरले त्यसबेला शिक्षा विभागका प्रमुख वरिष्ठ उपसचिव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर, शर्माले पनि महानगर प्रमुख बालेनको सचिवालयमा राजीनामा दर्ता गराएको महानगरका सहायक प्रवक्ता दिपक काफ्लेले बताए ।
‘निमित्त प्रमुखको राजीनामा स्वीकृत नभएकाले महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैन भन्न मिल्दैन । महानगर आफ्नो ढंगले काम गरिरहेको छ,’ सहायक प्रवक्ता काफ्लेले भने ।
