काठमाडौं । नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। अधिकारीहरूले उक्त भूकम्पको केन्द्रविन्दु चीनमा रहेको बताएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बीबीसीसँग भनिन्, "यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ।"
उनका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ। बिहान ६:५० बजे उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी रूपेश विश्वकर्माका अनुसार सल्लेरी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भए पनि मानवीय क्षतिको विवरण आइसकेको छैन।
"भूकम्प ठूलै आएको महसुस भयो। म भर्खरै बाहिरतिर डुलेर हेर्दा यहाँ आसपास क्षति भएको चाहिँ देखिएको छैन। लोबुचेतिर बुझ्ने प्रयास भइरहेको छ," विश्वकर्माले टेलिफोनमा भने।
लबुचेस्थिति झन्डै ५००० मिटर उचाइमा अवस्थित वैज्ञानिक अध्ययन केन्द्र 'पीरामिड ल्याब'का काजी विष्टले मङ्गलवार बिहानै त्यहाँ ठूलो कम्पन महसुस हुँदा आसपासका भिराला ठाउँबाट थुप्रै ढुङ्गा र बरफका ढिक्का खसेको बताए।
सोलुखुम्बुका प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जिल्लाको माथिल्लो भेगका मानिसहरूले घरहरू चर्किएको जानकारी गराएको बताएका छन्।
"कहीँ कतै क्षति छ कि भनेर बुझ्ने काम भइरहेको छ, हाम्रो जनशक्ति अहिले सबै बाहिर निस्किएको छ र उद्धारको लागि तयारी अवस्थामा छ। अहिलेसम्म अप्रिय घटना विवरण आएका छैनन्," उनले भने।
"माथिल्लो भेगमा केही घरहरू चर्किएको भन्ने आएको छ तर यकिन छैन।"
भारतमा असमदेखि दिल्लीसम्म
भूकम्प गएको केही समयपछि नै अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ।
सुरुमा यूएसजीएसले नेपालको लोबुचे क्षेत्रलाई केन्द्रविन्दु राखेर उल्लेख गरेको उक्त विवरणमा परिवर्तन गर्दै ७.१ म्याग्निट्यूडको भूकम्पको केन्द्रविन्दु चीनको सिजियाङ रहेको उल्लेख गरेको छ।
त्यसपछि उसले लोबुचे क्षेत्रबाट ७२ किलोमिटर उत्तरपूर्वमा ५.१ म्याग्निट्यूडको एउटा र १२५ किलोमिटर उत्तरपूर्वमा ४.८ म्याग्निट्यूडको अर्को भूकम्प महसुस गरिएको जनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्।
नेपालमा भूकम्पको जोखिम
विसं २०७२ सालको भूकम्प गएपछि सङ्कलित तथ्याङ्क र अन्य प्रमाणका आधारमा भूकम्पको चिरा फुटेको मध्यरेखामा धेरै कम्पन भएको र चिरा फुटेको पूर्वी छेउमा कम्पन बढी केन्द्रित भएको निष्कर्षमा भूगर्भशास्त्री र अन्य वैज्ञानिकहरू पुगेका छन्।
तर पश्चिम नेपालमा सन् १५०५ पछि कुनै ठूलो भूकम्प नगएको र भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेकाले त्यहाँ र भारतमा पनि ठूलो भूकम्पको जोखिम रहेको बताइन्छ।
भारतीय उपमहाद्वीपको भूगर्भमा रहेको चट्टानहरूको तह उत्तरतिर गइरहेको छ र युरेशिएन प्लेटमा जोतिइरहेको छ। भूगर्भशास्त्रीहरूले यसलाई भारतीय उपमहाद्वीपलाई बिस्तारै युरेशिएन महाद्वीपले निलिरहेको पनि भन्ने गरेका छन्।
पूरै हिमालय भएको क्षेत्र ती दुई प्लेटहरू ठोक्किने स्थान हो। त्यसैले हिमालयछेउछाउ भूकम्पको सम्भावना सधैँ हुन्छ।
भारतीय चट्टान युरेशिएन चट्टानमा ठोकिने भएकाले यो क्षेत्र जोखिमयुक्त क्षेत्रमा परेको हो।
कसरी जान्छ भूकम्प
नेपालको जमिनमुनि पनि प्राविधिक भाषामा भनिने फल्ट लाइन वा जमिनमुनिका चिरा रहेकाले भूकम्पको सम्भावना बढी भएको हो।
फल्ट भनेको दुई वटा चट्टानहरू एकअर्कामा नजिक भएर सर्ने र त्यहाँ एकातर्फ एउटा ठोस भाग र अर्को ठोस भाग अर्कोतर्फ हुने अनि उनीहरू एक अर्कासँग नजिक भएर सर्ने प्रक्रिया भएको भूकम्पविद्हरूको भनाइ छ।
ती चट्टानहरू एकअर्काबीच निकै सुस्त गतिमा चल्ने गर्छन्। तर त्यसमा आउने अचानक हलचल वा फेरबदलले निकै ठूलो ऊर्जा उत्पन्न गराउँछ र ती चट्टानमा चिरा उत्पन्न भई भूकम्प आउँछ।
यो तुलनात्मक रूपमा सतहको नजिक हुन्छ किनकि पृथ्वीको केन्द्र भाग लेदोयुक्त र तरल स्वरूपमा हुन्छ।
