सहर्ष न्युज, काठमाडौं । हिजो साउन १ गतेदेखि विधिवत् रुपमा सुरु भएको पशुपति कोटीहोम महायज्ञमा उत्साहजनक सहभागिता देखिएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त कोटीहोम महायज्ञको एक कार्यक्रमकाबीचमा उद्घाटन गरिएको थियो । साथमा श्री शिवमहापुराण र श्रीमद्भागवतको कथा प्रवचन पनि सुरु भएको छ ।
कोटीहोम महायज्ञको पहिलो दिन ठूलो सङ्ख्यामा भक्तजन देखिएका थिए । महायज्ञको पहिलो दिन पाँच हजार बढी भक्तजनको सहभागिता रहेको कोटीहोम आयोजक समितिले जनाएको छ । शनिवार ठूलो संख्यामा भक्तजन आउने अनुमान
मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा सुरु कोटीहोम महायज्ञ उद्घाटनमा पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टको प्रमुख आतिथ्यता थियो ।
सांसद शेरबहादुर कुँवर, ज्ञानबहादुर शाही, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, किरात धर्मगुरु डा. चन्द्रकुमार शेर्मालगायत लामा गुरु, बौद्ध धर्म गुरुलगायतको सहभागिता रहेको थियो ।
उद्घाटनको दिनबाट सुप्रसिद्ध कथावाचिका राधिका दासीले शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा शुभारम्भ गरेका छन । दैनिक बिहान ८ बजेदेखि २ बजेसम्म कथावाचिका दासी र दिउँसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्नुहुने आयोजकले जनाएको छ । त्यसका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पनि सुरु भएको छ ।
१३ सय भन्दा बढी कोटीहोम महायज्ञ उपसमितिहरु बनाएर विशेष कोटीहोम महायज्ञलाई व्यवस्थित बनाइएको छ ।
