काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सारमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरूमा सिरहाको अर्नमा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका–५ बलुवाटोलका ४० वर्षीय स्कारपियो चालक श्रीकुमार यादव रहेका छन् ।
सो दुर्घटनामा परी अर्नमा–३ की ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा–३ कै ६० वर्षीया कन्यादेवी महरा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
