२०८३ कार्तिक १४ गते शुक्रवार

images
  • समाचार
  • शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच...

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

बिहिवार, कार्तिक १३ २०८३
बिहिवार, कार्तिक १३ २०८३
  • काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीसँग बुधबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, हालैको बाढी तथा पहिरोबाट भएको क्षतिप्रति समवेदना र शिक्षा क्षेत्रमा आगामी सहकार्यका विषयमा कुराकानी भयो।

    भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्विस सरकारले लामो समयदेखि उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार प्रकट गरे। यो सहयोग भविष्यमा पनि जारी रहँदै नयाँ क्षेत्रमा विस्तार हुनेमा उनले विश्वास जनाए।

    उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट) सम्बन्धी नयाँ ऐन बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उक्त ऐन पारित भएपछि प्राविधिक शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण नीतिगत सुधार हुने, सीटीईभीटीको पुनर्संरचना गरिने र प्राविधिक तथा व्यावसायिक शिक्षा अझ व्यवस्थित हुने उनले बताए। साथै, प्राविधिक शिक्षाबाहेक उच्च शिक्षामा पनि दुवै देशबीच सहकार्य बढाउन सकिने उनले उल्लेख गरे। विशेषगरी प्राध्यापक तथा विद्यार्थी आदानप्रदानजस्ता कार्यक्रमबाट यसको सम्भावना रहेकोमा उनले जोड दिए।

    राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीबाट भएको जनधन तथा भौतिक क्षतिप्रति स्विस सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गरे। मानवीय क्षति र आपतकालीन अवस्थाको सामना गर्न स्विस सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको तत्काल सहायता र पुनर्स्थापना सहयोगबारे पनि उनले मन्त्री पोखरेललाई जानकारी गराए।

    नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्दै राजदूत मेउलीले स्विस सरकारको विश्वव्यापी विकास सहयोग नीतिमा आएको परिवर्तनले भविष्यमा नेपालमा हुने सहयोगको प्राथमिकता र स्वरूपमा पार्न सक्ने प्रभावबारे पनि जानकारी दिए।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend