२०८३ भाद्र २७ गते शनिवार

images

महानगरले लगायो प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध, कुन कुन स्थानमा तोकियो फूल बिक्रीस्थल ?

महानगरले लगायो प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध, कुन कुन स्थानमा तोकियो फूल बिक्रीस्थल ?

सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । काठमाडौं महानगरले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध लगाएको छ ।  काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको हो । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिएका छन् ।

    प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । “हामी व्यापारीहरूलाई प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ । यदि कसैले लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, प्रमुख शाहले भनेका छन् ।

    अघिल्लो वर्षको तिहारमा महानगरले सडकमा फूल बिक्रीमा रोक लगाएको र बिक्री स्थान नतोक्दा धेरै किसानले फूल बिक्री गर्न नपाएको गुनासो गरेका थिए । कतिपयले बिक्रीका लागि ल्याएको फूल सडकमै फालेका थिए ।

    महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । गत वर्षको सिकाइबाट यस वर्ष फूल बिक्रेतालाई सहज बनाउने प्रयास गरिने नगरप्रमुख शाहले उल्लेख गर्नुभएको छ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टरहरुमा व्यवस्था मिलाइएको छ ।

    फूल बिक्रीका लागि तोकिएका स्थल

    महानगरले बालाजु माछापोखरीस्थित आरती पार्टी प्यालेस, बुद्ध मल, भाटभटेनी, भ्याली कोल्ड स्टोर बालाजु, सामुदायिक भवन, बालाजुमा फूल बिक्रीको प्रबन्ध मिलाएको छ । स्वयम्भूस्थित धर्म चक्र पार्क, स्वयम्भू मार्ट, कलङ्की क्षेत्रमा भाटभटेनी, कलङ्की ट्रेड सेन्टर, एसएनएस, एनबिटिसीबाट फूल खरिद गर्न पाइनेछ । त्यसैगरी, नेपा ब्याङ्क्वेट खुशिँवु, बिग मार्ट, कालधारा, पकनाजोल, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौँ मल, सिभिल मल, सिटिसी मल, रञ्जना मल, बिग मार्ट कम्प्लेक्स, एटी कम्प्लेक्स, अनामनगरस्थित भाटभटेनी, आइटी प्लाजा, कमलादी, सङ्कटा चोक, टेबहाल, के। एल। टावर, चाबहिल, वी एन्ड एसएम, बौद्धमा उपभोक्ताले फूल खरिद गर्नसक्नेछन् ।

    त्यस्तै, शङ्खमूलको भर्गो जापान, बिगमार्ट, निराकल कम्प्लेक्स, बानेश्वरको आइप्लेक्स, एनबी सेन्टर, बत्तीसपुतलीस्थित फोनिक्स टावर, चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान, कोटेश्वरको भाटभटेनी, बिबिएसएम, एसी कम्प्लेक्स, सिफल चौर, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स, शङ्खमूल, नक्सालको भाटभटेनी, बालुवाटारस्थित बिग मार्ट, महाराजगञ्जको भाटभटेनी, सेल्स बेरी, सामाखुशीस्थित बिग माट, कोइराला मार्ट, कमलपोखरीको सिटी सेन्टर, बालाजुको ल्होत्से मल र सासा ब्याक्वेट सोह्रखुट्टेमा फूल बिक्री स्थल तोकिएको महानगरले जनाएको छ ।

    स्वदेशी फूल व्यापारीले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नेछन् । यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।

    महानगरले जफत गर्‍यो  ५२ पसलबाट  प्लास्टिकका फूलमाला

    काठमाडौँ महानगरपालिकाको कालिमाटी- कुलेश्वर- टंकेश्वर एरियाको ३२ वटा पसलमा अनुगमन गर्दा प्लास्टिकजन्य फूलमाला बिक्री गरिरहेको पाइएकोले महानगर प्रहरीले सो फूलमाला जफत गरेको छ।

    त्यसैगरी मंगलबार नै लाजिम्पाट ,रानीबारी ,बाँसबारी सुकेधारा लगायतका २० वटा पसलबाट पनि प्लास्टिकजन्य फूलमाला जफत गरिएको छ । महानगरले स्वदेशी फूलमाला बिक्रीलाई प्रोत्साहित गर्न नगर प्रहरी खटाएर प्लास्टिक र कागजका जफत अभियान चलाइको हो ।

    यसअघि महानगरका मेयर बालेन शाहले प्लास्टिकका फूलहरू बिक्री बितरण गरेमा कारबाही गरिने सूचना जारी गरिसकेका छन् । महानगरले काठमाडौंका ४६ स्थानमा स्वदेशी फूलमाला कृषकले बेच्ने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend