सहर्ष न्युज, बिराटनगर : नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक घराना शिवम् अर्गनाईजेशनका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले ३ वर्षभित्र सञ्चालनमा ल्याउने गरी आर.आर. इन्टरनेशनल अस्पताल निर्माण गर्ने तयारी थालेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशका अध्यक्ष उद्योगी राजेन्द्र राउतले आफ्नो र नातिनीको नामबाट आर.आर. इन्टरनेशनल अस्पताल निर्माणको तयारी थालेका हुन् । उक्त अस्पतालमा २ अर्ब ५० करोड लगानी रहने अस्पताल सिल्यान्यासको क्रममा जानकारी दिइयो ।
उद्योगी राजेन्द्र राउतका जेठा छोरा प्रतिक राउतका छोरीको नाम रुद्रांशी राउत हो । उद्योगी राजेन्द्र राउतले आफ्नो नाम र नातिनीको नामबाट आर.आर. इन्टरनेशनल अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी थालिएको हो । विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको धरान विराटनगर सडक खण्ड अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा निर्माण गर्न लागिएको अस्पतालको बुधबार शिलान्यास गरिएको छ । उद्योगी राजेन्द्र राउत र उनका नातिनी रुद्रांशी राउतले भव्य समारोहका बिच आर.आर. इन्टरनेशनल अस्पतालको शिलान्यास गरेको हो ।

उद्योगी राजेन्द्र राउतका जेठा छोरा आर.आर. इन्टरनेशनल अस्पतालका निर्देशक प्रतिक राउतले सुरुमा २ सय बेडको अस्पताल निर्माण गरिने छ । पहिलो चरणमा १ सय बेड अस्पताल सञ्चालनमा आउँने छ । दोस्रो चरणमा २ सय बेडको अस्पताल सञ्चालन हुनेछ । त्यसपछि अस्पतालको सम्पूर्ण निर्माण कार्य पुरा भई सकेपछि ३ सय बेडको अस्पताल सञ्चालनमा आउने गरी अगाडि बढेको बताए ।
‘स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनी विशुद्ध मानवीय भावनाले पे्ररित भई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरुमा दुई सय शैय्या क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ,’ राउतका जेठा छोरा तथा अस्पतालका निर्देशक प्रतिक राउतले भने, ‘हाल यसलाई १ सय शैंय्याको मल्टीस्पेसियालिटी हस्पिटल संचालन गर्ने र क्रमसः तीन सय शैय्यासम्म विस्तार गर्ने लक्ष्य लिइएको छ ।’ आरआर इन्टरनेसनल अस्पतालको नाममा सुरु हुन लागेको हस्पिटलले जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनुपर्ने बाध्यतालाई कम गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । १८ कठ्ठा जग्गामा निर्माण हुन लागेको अस्पतताललाई सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गरी सुपरस्पेसियालिटी स्वास्थ्य सेवा दिने केन्द्र बनाउने राउतले बताए ।

राउतले स्थापना गरेको हस्पिटल विराटनगर–इटहरी राजमार्गसँगै जोडिएको छ । उक्त हाइवे लाइनमा आधा दर्जन अस्पताल तथा मेडिकल कलेजहरु छन् । ती अस्पताल र मेडिकल कलेजसँग गुणस्तरमा प्रतिस्पर्धा गर्ने राउतले बताए । ‘हामी जुन लाइनमा अस्पताल निर्माण गर्दैछौं । यो लाइनमा मात्रै पाँच वटा अस्पतालहरु छन् । उहाँहरुसँग हाम्रो अस्वस्थ प्रतिस्पर्धाभन्दा पनि प्रतिस्पर्धाले गुणस्तर ल्याउने काम हुनेछ । हामी गुणस्तर ल्याउँछौं । त्यसपछि बिरामीले राम्रो उपचार पाउन सक्छन्,’ राउतले भने ।
अस्पतालका अध्यक्ष राउतले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४सैं घण्टा इमर्जेन्सी सेवा, जनरल सेवा, मेडिसिन सेवा, न्युरो सर्जरी सेवा, जनरल सर्जरी सेवा, मृगौला रोग, मूत्र रोग, स्त्री तथा प्रसुती रोग, आँखा रोग, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग लगायत रोगको उपचार सेवा सञ्चालनमा ल्याउने जानकारी गराए ।
अलग किसिमको पारिवारिक पृष्ठभूमी र उद्योग व्यवसायको विरासत बिना नै यस क्षेत्रमा प्रवेश गरेका राउतले यसअघि गार्मेन्ट, निर्यात उद्योगबाट आफ्नो पहिचान बनाएका हुन् । हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका व्यावसायी राउतका जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिङ कारोबार संलग्न छन् भने काठमाडौंमा अत्याधुनिक पाँचतारे होटल केही महिनाभित्रै सञ्चालनमा ल्याउँदैंछन् । राउतले विराटनगरमा हाउजिङ कम्पनी, पाँचतारे होटल र स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल, पारामेडिकल, नर्सिङ कलेज समेत स्थापना गर्दै लैजाने योजना बनाएका छन् । राउतले उद्योग संचालनका लागि व्यवस्थापन नै महत्वपूर्ण कुरा भएको बताए ।
‘पूर्वाञ्चल क्षेत्रमा म पाँच पटक गोल्ड मेडलिष्ट भएको हुँ, गार्मेन्ट निर्यातमा । त्यसबेला मैले अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग मिलेर काम गरेको थिएँ,’ उनले भने, ‘त्यसपछि मैले मारुती सिमेन्ट स्थापित भयो । द्वन्द्वकालमा मैले सिन्धुलीबाट खानी उद्योगको काम सुरु गरेको हुँ । नेपालमै क्लिङ्कर बनाउन सकिन्छ भन्ने कुरा मैले नै सुरु गरेको हुँ । त्यसपछि मैले अटोमोबाइल्स, हेभी इक्वीपमेन्टको रेन्टर सर्भिस गर्न सकिन्छ भनेर मैले सुरु गरें । त्यसको पार्टस्देखि सर्भिस सेन्टरहरु अहिले पनि छन् । मैले हरेक काम गर्दा देखेको कुरा भनेकै व्यवस्थापनको पार्ट मुख्य कुरा हो । उनले अहिले आफू स्वास्थ्य क्षेत्र र होटल क्षेत्रमा लागेको बताए । उत्पादन क्षेत्रमा आयातमुखी भएको कारण थेग्न नसक्ने अवस्था सिर्जना भएको कारण नै उद्योगपतिहरु साइड लाग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
