काठमाडौं । दशैंको सार्वजनिक बिदामा सरकारी अस्पताल बन्द नहुने भएको छ । सङ्घीय अस्पतालहरू वीर, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सहिद शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतले बिरामीलाई नफर्काउने गरी उपचारको व्यवस्था गरेका छन् ।
कतिपय अस्पतालले दसैँको नवमी र दशमीबाहेकका सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा ओपिडी सञ्चालन गर्ने भएका छन् । नवमी र दशमीका दिन ओपिडी सञ्चालन नगरे पनि ओपिडीमा आउने बिरामीलाई आकस्मिक सेवा दिने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कतिपय अस्पतालले बिदाको दिनमा समेत बहिरङ्ग सेवा दिन लागेको जानकारी दिएको छ । केही अस्पतालले नवमी र विजया दशमीका दिन ओपिडी बन्द भए पनि आकस्मिक कक्षबाट बिरामीलाई उपचार सेवा दिने मन्त्रालयको भनाई छ ।
पछिल्लो समय सङ्घ अन्तर्गतका सरकारी अस्पतालले दुई समूहमा ओपिडी सेवा सञ्चालन गर्दै आएका छन् । दुई चरणमा ओपिडी सञ्चालन भएकाले दसैँको बिदामा कुनै पनि बिरामी अस्पताल आइसकेपछि उपचार गरेर मात्र फर्किने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ ।
