२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको...

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

सहर्ष न्युज
बुधवार, आश्विन २३ २०८१
सहर्ष न्युज
बुधवार, आश्विन २३ २०८१
  • काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।

    अहिले अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ । नागढुङ्गा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरुले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सङ्घीय राजधानी काठमाडौँ भित्रिँदा र बाहिँरिदा नागढुङ्गाको जाम छल्न सीतापाइला–धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन् । अहिले उक्त सडकको प्रयोग गरेर कति सवारी साधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारी साधन उक्त बाटोको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

    नागढुङ्गा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ । नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौँतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ । धार्के–सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो सडक २४ किमीको छ, सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ, यसको स्तरोन्नतिसहित चाँडै कालोपत्र गर्न सके नागढुङ्गा–नौबिसे सडकको जाम कम हुनेछ ।” नागढुङ्गा–नौबिसेको जाम छल्ने यो वैकल्किप सडक भएको स्थानीयवासी बताउँछन् । यो सडक विस्तार भएर सञ्चालनमा आएपछि नौबिसेदेखि नागढुङ्गासम्म हुने सवारी साधनको जाम कम हुने सहसचिव ढकालको भनाइ छ । यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कुवेत सरकारले तयार पारेको थियो । झण्डै १५ करोड खर्चिएर डिपिआर तयार गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend