काठमाडौँ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरूले महानगर प्रहरी दिवसको अवसरमा सहरलाई सफा र हरियाली बनाउने उद्देश्यका साथ विशेष सरसफाई कार्यक्रम सञ्चालन गरेका छन्। महानगर प्रहरी दिवस मनाउँदै गरिएको यो सरसफाई अभियानलाई एउटा सिम्बलको रूपमा लिइएको छ, जसको लक्ष्य हरियाली र धुलोरहित समाज निर्माण गर्नु रहेको छ।
कार्यक्रम अन्तर्गत आज भाद्र ७ गते स्वयम्भू क्षेत्र वरपर सफा गरियो भने भोलि भाद्र ८ गते बौद्धनाथ स्तूपा क्षेत्रमा र पर्सि भाद्र ९ गते बसन्तपुर क्षेत्रमा सरसफाई गरिने जनाइएको छ।
यस अवसरमा महानगर प्रहरी प्रमुख विष्णुप्रसादसँग कुराकानी गर्दा उनले सरसफाई नियमित रूपमा हुनुपर्ने र सर्वसाधारणले पनि नियमित रूपमा सफाइ गर्नुपर्ने बताए। "फोहोर गर्नु हुँदैन," उनले थपे। बाहिरबाट आउने पर्यटकहरूलाई सम्पदा क्षेत्र सफा भएको महसुस गराउने उद्देश्यले "सफा सहर, सुन्दर महानगर" भन्ने नाराअन्तर्गत यो विशेष सरसफाई कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।
सहरको सरसफाईलाई प्रमुख विष्णु प्रसादले केवल एक दिनको कार्यक्रमका रूपमा नभई दीर्घकालीन आवश्यकताका रूपमा हेर्नुपर्ने बताए। सफा र हराभरा सहरले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक असर पार्ने, वायु र वातावरणीय प्रदूषण कम गर्ने, तथा सहरको समग्र सौन्दर्य र पहिचानमा वृद्धि गर्ने उनको भनाइ छ। यसबाहेक विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका ऐतिहासिक तथा धार्मिक सम्पदा क्षेत्रहरूको सरसफाईले पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने उनले जनाए। यसैले सरसफाई कुनै एक निकाय वा प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण सर्वसाधारणको साझा दायित्व भएको उनको भनाइ छ।
नगर प्रहरीलाई देखिएका चुनौतीहरूबारे सोधिएको प्रश्नमा प्रमुख विष्णुप्रसादले चुनौतीलाई नै अवसरका रूपमा लिने गरेको बताए। "चुनौती आत्मसात गरेर आफूलाई सुधार्ने हो," उनले भने, "पहल गर्नुपर्ने ठाउँमा पहल गर्ने, अनुरोध गर्नुपर्ने ठाउँमा अनुरोध गर्ने र कारबाही गर्नुपर्ने ठाउँमा कारबाही गर्ने नै हाम्रो कार्यशैली हो।"

सहरमा बढ्दो जथाभावी पार्किङको समस्याबारे पनि सोधिएको प्रश्नमा उनले हाल सबै ठाउँमा नगर प्रहरी खटिएको जानकारी दिए। उनका अनुसार गत वर्ष गैरकानुनी रूपमा पार्किङ गरेकोमा लगभग ३५ हजार सवारीसाधनविरुद्ध कारबाही गरिएको थियो। तर हाल कारबाहीभन्दा पनि परीक्षणको रूपमा सम्झाइबुझाइ गर्ने नीति अपनाइएको उनले स्पष्ट पारे।
यस विशेष सरसफाई अभियानले काठमाडौँ महानगरपालिकाले सफा, हराभरा र व्यवस्थित सहर निर्माणतर्फ अझ गम्भीर भएर लागिरहेको संकेत गर्छ। नगर प्रहरीले सुरु गरेको यो पहललाई निरन्तरता दिँदै सर्वसाधारणको सक्रिय सहभागिता जुट्न सकेमा मात्र "सफा सहर, सुन्दर महानगर"को नारा साकार हुने विज्ञहरूको भनाइ छ।
