काठमाडौँ । स्वयम्भू क्षेत्रका बासिन्दाहरूले बाँदरको बढ्दो समस्याबाट आजित भई काठमाडौँ महानगरपालिकासँग समाधान माग गरेका छन् । कार्यवाहक प्रमुख सुनिता डंगोलसँग भएको भेटमा स्थानीयवासीहरूले आफ्नो पीडा सुनाउँदै बाँदरका हुल-हुल घरभित्र पसेर हजारौँ रुपियाँबराबरको क्षति पुर्याउने गरेको बताए । फलफूलको गन्ध पाएपछि बाँदर झनै उग्र बन्ने र जसरी पनि घर भित्र्याउने प्रयास गर्ने गुनासो उनीहरूले गरे । स्थानीयले आफूहरू बाँदरविरोधी नभई केवल दैनिक जीवन कष्टकर बनेकाले व्यवस्थापन आवश्यक भएको स्पष्ट पारे ।
निवेदन सुनेपछि प्रमुख डंगोलले पीडित स्थानीय, वन्यजन्तु विशेषज्ञ र सरोकारवालाहरूसँग छलफल गरी तत्कालका लागि नमूना व्यवस्थापन कार्यक्रम सुरु गर्ने र अध्ययनसहित दीर्घकालीन कार्ययोजना तयार पार्ने प्रतिबद्धता जनाइन् ।
वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलका अनुसार यसअघि पनि वडा तहमा धेरैपटक छलफल भए पनि व्यवस्थापन संघीय सरकारको जिम्मेवारी हो वा स्थानीय सरकारको भन्ने अन्योलका कारण ठोस कार्यविधि बन्न सकेको थिएन । उनले अब महानगरपालिकाकै नेतृत्वमा समाधान निस्कने आशा व्यक्त गरे ।
त्रिपुरेश्वर र थापाथली क्षेत्रका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले त्यस क्षेत्रका बाँदर रातो रङप्रति विशेष आक्रामक देखिने र बाटोमा हिँड्नेलाई आक्रमण गर्ने गरेको जानकारी दिँदै, समस्या मात्र औँल्याउने तर समाधान नदिने विशेषज्ञहरूका कारण काम अघि बढ्न नसकेको गुनासो गरे ।
बैठकमा प्रस्तुति दिँदै स्थानीय श्याम प्रधानले हाल स्वयम्भू क्षेत्रमा करिब १० समूहमा गरी १,७०० जति बाँदर रहेको जनाए । कोभिडकालमा (वि.सं. २०७५/०७६) यो संख्या करिब १,०२० र २०८०/०८१ मा करिब १,१७९ रहेकोमा हाल उल्लेख्य वृद्धि भएको उनले बताए । यहाँ पाइने बाँदर 'ओल्ड वर्ल्ड' प्रजातिका रहेको उनको भनाइ छ ।
छलफलका क्रममा बाँदरको बसोबासका लागि पानीको नजिकको वातावरण महत्त्वपूर्ण रहने र पर्याप्त खाना पाउँदा उनीहरू शान्त रहने तर नपाउँदा आक्रामक बन्ने बताइयो । टोक्ने र चपाउने बानी भएका बाँदरले विभिन्न किराहरू पनि खाने गरेको जानकारी दिइयो, साथै मानिसजस्तै तिनलाई पनि अनुहार हेरेर छुट्याउन सकिने बताइयो । समाधानस्वरूप स्वयम्भू क्षेत्रको भूबनोट र रुख-विरुवालाई नबिगारी उपयुक्त स्थानमा केज निर्माण गरी बाँदरलाई मनपर्ने वातावरण दिएर व्यवस्थापन गर्न सकिने सुझाव बैठकमा दिइयो ।
