२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • कोशी अस्पतालको निर्माण गरिएका अनाधिकृत संरचनामाथि...

कोशी अस्पतालको निर्माण गरिएका अनाधिकृत संरचनामाथि डोजर, २६ व्यावसायिक सटर भत्काइयो

कोशी अस्पतालको निर्माण गरिएका अनाधिकृत संरचनामाथि डोजर, २६ व्यावसायिक सटर भत्काइयो

सहर्ष न्युज
सोमवार, आषाढ २९ २०८३
सहर्ष न्युज
सोमवार, आषाढ २९ २०८३
  • विराटनगर : कोशी अस्पताल विराटनगरको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनाधिकृत संरचनामाथि अस्पताल प्रशासनले सोमबार बिहान डोजर चलाएको छ। विभिन्न संस्थाले निर्माण गरी व्यावसायिक प्रयोजनका लागि तेस्रो पक्षलाई भाडामा दिएका २६ वटा सटर भत्काएर प्रयोग गर्न नमिल्ने बनाइएको अस्पताल प्रशासनले जनाएको छ।

    विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाले निर्माण गरेका सटरहरू व्यवसाय सञ्चालनका लागि तेस्रो पक्षलाई भाडामा दिएका थिए।

    अनाधिकृत रूपमा निर्माण गरिएका ती संरचना हटाउन सोमबार बिहानैदेखि डोजर परिचालन गरिएको हो। संरचना हटाउने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ। मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली घटनास्थलमा खटिएको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

    यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा बनेका अनाधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए।

    मन्त्रीहरूको निर्देशनपछि अस्पताल प्रशासनले सात दिने सार्वजनिक सूचना जारी गरेको थियो। त्यसअघि असार ५ गते नै संरचना खाली गर्न १५ दिने सूचना प्रकाशित गरिएको थियो।

    अस्पताल प्रशासनले दिएको अन्तिम समयसीमाभित्र अधिकांश व्यवसायीले आफ्ना सामान हटाइसकेका थिए। त्यसपछि बाँकी रहेका संरचनामाथि डोजर चलाएर हटाउने कार्य अघि बढाइएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend