काठमाडौं : कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा पहिलो हाफमा पेनाल्टी गुमाएको फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा स्थान बनाएको हो।
सन् २०१८ को विश्वविजेता तथा साविक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको क्वाटरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलमा पनि फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। यसपटक क्वाटरफाइनलमै भएको पुनःभेटमा मोरक्को बदला लिने लक्ष्यसहित मैदान उत्रिए पनि सफल हुन सकेन।
पहिलो हाफमा बोनोको उत्कृष्ट प्रदर्शन
खेलको पहिलो हाफमा मोरक्कोका गोलकिपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका लगातार आक्रमण विफल पारे। उनले पेनाल्टीसहित तीन महत्वपूर्ण बचाउ गरे।
२५औं मिनेटमा माजाउरीले एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। भिएआर समीक्षा पछि निर्णयलाई सदर गरिएको थियो। तर २८औं मिनेटमा एमबाप्पेको प्रहार बोनोउले सहजै बचाए।
यसअघि चौथो मिनेटमा डायोट उपामेकानोको हेडर तथा पहिलो हाफको इन्जुरी समयमा लुकास डिग्नेको शक्तिशाली प्रहार पनि बोनोउले रोकेका थिए।
दोस्रो हाफमा फ्रान्सको दबदबा
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको फ्रान्सले दोस्रो हाफमा खेलको नियन्त्रण आफ्नो पक्षमा पार्दै अग्रता बनायो।
६०औं मिनेटमा डिजायर डुएको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए। त्यसको केवल ६ मिनेटपछि एमबाप्पेको पासमा उसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
बाँकी समयमा पनि फ्रान्सले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि थप गोल गर्न सकेन।
एमबाप्पे गोल्डेन बुटको दौडमा अग्रस्थानमा
विश्वकपमा उत्कृष्ट लयमा रहेका एमबाप्पेले यस खेलमा एक गोल र एक असिस्ट गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ८ पुर्याएका छन्। उनले तीन असिस्ट पनि गरेका छन्, जसका कारण समान ८ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा गोल्डेन बुटको दौडमा अघि रहेका छन्।
यस्तै, विश्वकप इतिहासमा एमबाप्पेको कुल गोल संख्या २० पुगेको छ, जुन मेसीको भन्दा एक गोल कम हो।
उता, डेम्बेलेले प्रतियोगितामा आफ्नो पाँचौं गोल गर्दै उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्।
यस हारसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३४ खेलसम्म कायम रहेको अपराजित यात्रासमेत समाप्त भएको छ।
