काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले राहदानी विभाग अगाडि भएको आत्मदाह प्रयासको घटनामा नगरप्रहरीको कुनै गलत नियत, रिसइबी वा पूर्वाग्रह नरहेको बताएका छन्।
जोशीले महानगर प्रहरीले सडक तथा फुटपाथमा अवरोध गर्ने सवारीसाधनमाथि नियमित रूपमा कानुनअनुसार कारबाही गर्दै आएको स्पष्ट पारे। उनका अनुसार उक्त घटनामा पनि नयाँ वा असामान्य कारबाही गरिएको थिएन।
जोशीले बिहीबार बिहान करिब ११:३० बजे सम्बन्धित युवकको मोटरसाइकलमा नियमअनुसार ह्वील लक लगाइएको जानकारी दिए। त्यसपछि ती युवकले ‘म जरिवाना तिर्दिनँ, मेरो बाइक जहाँ लैजाने हो लैजानुस्’ भन्दै घटनास्थल छाडेको र केही समय सम्पर्कविहीन बनेको उनले बताए।
उनका अनुसार करिब दुई घण्टापछि, दिउँसो साढे १ बजेतिर ट्राफिक प्रहरी र नगरप्रहरीको संयुक्त टोली मोटरसाइकल उठाउन पुगेको थियो। टोलीले मोटरसाइकल महानगरको गाडीमा राख्न थालेपछि मात्रै ती युवक घटनास्थलमा फर्किएको र त्यसक्रममा उनले आफैँलाई आगो लगाउने प्रयास गरेको जोशीले बताए।
जोशीले केवल १ हजार रुपैयाँ जरिवानाकै कारण कसैले यति ठूलो जोखिम मोलेर आत्मदाह प्रयास गर्नु स्वाभाविक नदेखिएको उल्लेख गर्दै घटनाका पछाडि अन्य व्यक्तिगत वा घरायसी कारण पनि हुन सक्ने बताए। उनले यसबारे सत्यतथ्य अनुसन्धानबाट मात्रै खुल्ने धारणा व्यक्त गरे।
घटनापछि सामाजिक सञ्जालमा महानगरको कारबाहीलाई लिएर भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै जोशीले फुटपाथ र सार्वजनिक सडक सर्वसाधारणको सहज आवतजावतका लागि खुला राख्नु महानगरको दायित्व भएको बताए। उनले महानगरले कानुन र विधिअनुसार मात्रै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको दाबी गरे।
