जापानसहित क्षेत्रीय देशहरूको चिन्ता बढ्यो, चीनले भने– 'नियमित सैन्य अभ्यास'
काठमाडौँ। चीनले प्रशान्त महासागरमा आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। परीक्षणअघि सम्बन्धित केही राष्ट्रलाई पूर्वसूचना दिइएको भए पनि यस कदमले जापानसहितका क्षेत्रीय देशहरूको सुरक्षा चिन्ता थप बढाएको छ। यससँगै दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिमाथि नयाँ बहस सुरु भएको छ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी नेभीका प्रवक्ता वाङ सुएमेङले रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रयोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण गरिएको जानकारी दिएका छन्। उनका अनुसार क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा खसेको थियो।
वाङले उक्त परीक्षण चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गत नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई अग्रिम जानकारी गराइएको पनि बताएका छन्।
यसैबीच, क्षेप्यास्त्र परीक्षण भएकै दिन चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन्। यद्यपि बेइजिङले उक्त क्षेप्यास्त्र परीक्षण संयुक्त सैन्य अभ्यासकै हिस्सा थियो वा थिएन भन्नेबारे स्पष्ट पारेको छैन।
जापानले भने चीनको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै भविष्यमा यस्ता गतिविधि पुनर्विचार गर्न आग्रह गरेको छ। पपुवा न्युगिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले चिनियाँ राजदूतमार्फत परीक्षणबारे पूर्वसूचना प्राप्त भएको पुष्टि गरेका छन्।
त्यसैगरी, न्युजिल्यान्ड सरकारका एक स्रोतले पनि चीनले सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे जानकारी गराएको बताएका छन्। यद्यपि क्षेप्यास्त्र खस्ने स्थान भने खुलाइएको थिएन।
बेइजिङले पछिल्ला वर्षहरूमा आफ्नो आणविक तथा सैन्य क्षमता तीव्र रूपमा विस्तार गर्दै आएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग पाँच सयभन्दा बढी आणविक हतियार रहेका थिए। सन् २०३० सम्म यो संख्या एक हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।
यसअघि सन् २०२४ को सेप्टेम्बरमा चीनको रकेट फोर्सले फ्रेन्च पोलिनेसिया नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा डमी वारहेडसहित लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो। चार दशकभन्दा बढी समयपछि गरिएको उक्त परीक्षणमा थर्मोन्युक्लियर वारहेड बोक्न सक्ने डोङ फेङ–३१ क्षेप्यास्त्र प्रयोग गरिएको विश्लेषकहरूको अनुमान थियो।
उता, गत महिना सार्वजनिक भएको न्युजिल्यान्डको रक्षा बलको आन्तरिक प्रतिवेदनले पनि प्रशान्त क्षेत्रमा चीनको नौसैनिक गतिविधि तथा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण आगामी वर्षहरूमा अझ नियमित हुने संकेत गरेको छ। साथै, चीनले अस्पताल, सडक र खेलकुद पूर्वाधारलगायत विकास परियोजनामार्फत प्रशान्त टापु राष्ट्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिलाई निरन्तर अघि बढाइरहेको उल्लेख गरिएको छ।
