रोसी र दाप्चा खोलामा आएको बाढीले पुनर्निर्माणाधीन सडकमा क्षति, यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यातायात रोकियो
काठमाडौं: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा आइतबार परेको भारी वर्षापछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ। रोसी नदीको माथिल्लो क्षेत्रमा भएको वर्षाले दाप्चा खोला र रोसी खोलामा बाढी आएपछि पुनर्निर्माण भइरहेको बीपी राजमार्गका डाइभर्सन सडक बगाएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नमोबुद्ध र पनौती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप बाढीको जोखिमलाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाढीले बीपी राजमार्गअन्तर्गत चौकीडाँडा र कटुञ्जे क्षेत्रमा निर्माण गरिएका डाइभर्सन सडकमा क्षति पुर्याएको छ। राजमार्ग अवरुद्ध भएपछि उक्त सडक हुँदै यात्रा गर्ने सवारी साधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी र मङ्गलटार क्षेत्रमा रोकिएको प्रहरीले जनाएको छ।
यसअघि वि.सं. २०८१ साल असोज दोस्रो सातामा आएको विनाशकारी बाढीले बीपी राजमार्गमा ठूलो क्षति पुर्याएको थियो। त्यसयता पूर्वी तराई र पहाडी जिल्ला जोड्ने यस महत्वपूर्ण सडकखण्डको पुनर्निर्माण भइरहेको छ। हाल काभ्रेपलाञ्चोकतर्फ चार स्थान र सिन्धुलीतर्फ एक स्थानमा पुनर्निर्माणको काम जारी रहेको छ।
प्रहरीले मौसममा सुधार नआएसम्म र सडक सुरक्षित नभएसम्म बीपी राजमार्ग प्रयोग नगर्न तथा वैकल्पिक मार्ग अपनाउन यात्रु र सवारी चालकलाई अनुरोध गरेको छ।
