५०.५० प्रतिशत भौतिक प्रगति हासिल गरेको आयोजनाबाट बाँकेका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्य
बाँके। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै सरोकारवाला पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले आयोजनाले बाँकेको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए। उनले आयोजनाको कार्यान्वयनमा देखिएका कानुनी तथा प्रशासनिक जटिलता समाधान गर्न आवश्यक पहल गर्ने र बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने बताए।
मन्त्री श्रेष्ठले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण तथा अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले सिँचाइ पूर्वाधार निर्माणसँगै किसानका खेतसम्म पानी पुर्याउने, कृषि उत्पादनको बजारीकरण, गुणस्तरीय बीउ तथा मलको सहज उपलब्धता र कृषि मूल्य शृङ्खला विकासमा सरकारको आवश्यक समन्वय र सहजीकरण रहने प्रतिबद्धता जनाए।
उनले सिक्टा सिँचाइ आयोजना पूर्वाधार निर्माणमा मात्र सीमित नभई बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण तथा किसानको आयआर्जन बढाउने दीर्घकालीन आधार बन्ने बताए। निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले स्थानीय किसानसँग रोपाइँको अवस्था, सिँचाइ सुविधा तथा उनीहरूले भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी समेत लिए।
आयोजनाको अवस्था
राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी सञ्चालनमा रहेको सिक्टा सिँचाइ आयोजना नेपाल सरकारकै स्रोतबाट आर्थिक वर्ष २०६१/६२ मा सुरु गरिएको हो। आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसमध्ये पश्चिमी मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरमार्फत करिब ९ हजार हेक्टर क्षेत्र सिँचित गर्ने योजना छ।
आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत भएको यस आयोजनाको स्वीकृत गुरुयोजनाअनुसार अनुमानित लागत करिब ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। तीन चरणमा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाको दोस्रो चरणको काम जारी छ भने आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हालसम्म आयोजनाको ५०.५० प्रतिशत भौतिक तथा ४५.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। यस अवधिसम्म करिब २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको आयोजनाले जनाएको छ।
हालसम्म भएका प्रमुख काम
आयोजनाअन्तर्गत अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन र फ्लसिङ च्यानल निर्माण सम्पन्न भएको छ। पश्चिमतर्फ ५० क्युमेक्स क्षमताको ४५.२५ किलोमिटर मूल नहर तथा पूर्वतर्फ १४.५ क्युमेक्स क्षमताको ५३.५ किलोमिटरमध्ये ३७.६७५ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको छ।
यस्तै, कुल २३३ किलोमिटरमध्ये ७७.५९ किलोमिटर शाखा तथा उपशाखा नहर निर्माण, करिब ३० किलोमिटर तटबन्ध निर्माण, १८७ हेक्टर जमिन अधिग्रहण, किसान व्यवस्थापनमा रहेका सिँचाइ प्रणालीको आधुनिकीकरण, विभिन्न जलाशय निर्माण तथा कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा लिफ्ट सिँचाइ प्रणालीमार्फत करिब १५० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको आयोजनाले जनाएको छ।
