२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा...

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा साउनदेखि, पहिलो चरणमा ८ विद्युतीय बस सञ्चालन हुने

महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा साउनदेखि, पहिलो चरणमा ८ विद्युतीय बस सञ्चालन हुने

सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
सहर्ष न्युज
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । सरकारले महिलाको सुरक्षित र सहज सार्वजनिक यातायात सुनिश्चित गर्ने उद्देश्यले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने भएको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० दिने कार्ययोजनाअनुसार पहिलो चरणमा साझा यातायातका आठ वटा विद्युतीय बसलाई ‘ब्लु बस’का रूपमा सञ्चालन गर्न लागिएको हो।

    पूर्वाधार विकास मन्त्रालयका अनुसार साउन महिनादेखि सेवा सुरु गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा बुढानीलकण्ठ–लगनखेल–गोदावरी रुटमा दुई वटा, नागढुंगा–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ क्षेत्रमा चार वटा विद्युतीय बस सञ्चालन गरिनेछ।

    हाल ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको साझा यातायातले सरकारसँगको सहमतिअनुसार तीमध्ये आठ वटा बसलाई ‘ब्लु बस’मा रूपान्तरण गर्नेछ। बसको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पनि साझा यातायातले नै सम्हाल्नेछ।

    साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार प्रारम्भिक चरणमा बस सञ्चालनका लागि आवश्यक बजेट स्वीकृतिका लागि प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ। बजेट स्वीकृतिपछि सरकारसँग सम्झौता गरी सेवा सञ्चालन गरिने उनले बताए।

    उनका अनुसार एउटा विद्युतीय बस सञ्चालनमा दैनिक करिब १० हजार रुपैयाँ खर्च हुने गर्छ। वार्षिक रूपमा एउटा बस सञ्चालन गर्न करिब ३६ लाख रुपैयाँ लाग्ने भएकाले आठ वटा बसका लागि सरकारले न्यूनतम तीन करोड रुपैयाँ वार्षिक बजेट व्यवस्था गर्नुपर्ने देखिन्छ।

    अर्यालले सम्झौतापछि बसको रङ परिवर्तन गरी निलो बनाइने जानकारी दिए। ‘ब्लु बस’ नामअनुसार बसको बाहिरी स्वरूप पनि निलो रंगमा परिवर्तन गरिनेछ।

    सरकारले यो सेवा महिलाका लागि निःशुल्क बनाउने निर्णय गरिसकेको भए पनि महिलासँगै पुरुष यात्रुलाई बसमा यात्रा गर्न दिने वा नदिने विषयमा भने अन्तिम निर्णय हुन बाँकी रहेको साझा यातायातले जनाएको छ।

    सरकारले पहिलो चरणको अनुभवका आधारमा आगामी दिनमा सातै प्रदेशमा ‘ब्लु बस’ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend