काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ।
बैठकको निर्णयअनुसार एआईजी उमाप्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि सीआईबी प्रमुख रहेका एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।
यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी सुशीलसिंह राठौरलाई खटाइएको छ। हाल उक्त कार्यालयको नेतृत्व गरिरहेका एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा सरुवा गरिएको छ।
हाल नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयको अपरेशन विभागमा पठाइएको छ भने प्रतिष्ठानको प्रमुखको जिम्मेवारी एआईजी राजन अधिकारीलाई दिइएको छ।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीका कुल आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको हो। अन्य एआईजीहरूको सरुवासम्बन्धी विवरण भने सरकारबाट सार्वजनिक हुन बाँकी रहेको छ।
