परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई शाही माफी प्रदान गरेकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त
काठमाडौं : साउदी अरब सरकारले त्यहाँका विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ जना नेपाली नागरिकलाई शाही माफी दिएको छ। रमजान महिनाको अवसरमा प्रदान गरिएको आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने निर्णय गरिएको हो।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी प्रदान गरेकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार यो निर्णय रियादस्थित नेपाली दूतावासको विशेष पहल र नेपाल सरकारको अनुरोधका आधारमा भएको हो। नेपालले साउदी सरकारको यस कदमलाई दुई देशबीच लामो समयदेखि कायम रहेको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको उदाहरणका रूपमा लिएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले शाही माफी पाएका ३३ नेपालीले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै नेपाल फर्कने जानकारी दिएको छ।
नेपाल सरकारले साउदी सरकारको सहृदय निर्णयको उच्च प्रशंसा गर्दै भविष्यमा पनि दुई देशबीचको सहयोग र मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
