काठमाडौं : राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले कर्णाली प्रदेशबाहेक अन्य सबै प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार निरन्तर वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान र डुबानको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।
प्राधिकरणले विशेषगरी खोला तथा नदी किनार, पहिरोको जोखिम भएका बस्ती र डुबान प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानको पहिचान गरी आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ। डुबानको जोखिम रहेका क्षेत्रमा बस्ने नागरिकलाई समयमै सुरक्षित स्थानमा सर्न, परिवार तथा छिमेकीलाई जानकारी गराउन र आवश्यक परे सुरक्षित आश्रयस्थलमा जान पनि सुझाव दिइएको छ।
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन तीनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, पहिरो र बाढीबाट प्रभावित हुन सक्ने राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
प्राधिकरणले पूर्वतयारी, पूर्वकार्य तथा उद्धारमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर सतर्क अवस्थामा रहन पनि अनुरोध गरेको छ।
वर्षा, बाढी तथा विपद्सम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न तथा आपत्कालीन सहयोग आवश्यक परे प्राधिकरणको ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्न सक्ने भएकाले जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान, चेतावनी तथा सूचनालाई नियमित रूपमा पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।
