काठमाडौं : कैलालीमा एकै दिन ३ किलो ३३१ ग्राम लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन्। प्रहरीले अत्तरिया बजारका दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट २ किलो ९५ ग्राम चरेस बरामद गरिएको छ। उक्त घटनामा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही र धनगढी उपमहानगरपालिका–१ मा बसोबास गर्दै आएका कञ्चनपुरका ५२ वर्षीय मीनराज भट्ट पक्राउ परेका छन्।
यस्तै, आइतबार राति अत्तरिया–धनगढी सडकखण्डमा प्रहरीले गरेको चेकजाँचका क्रममा गोदावरी नगरपालिका–२ का ३८ वर्षीय धर्म धामीलाई १ किलो २३६ ग्राम चरेससहित पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पछिल्लो समय कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध कारोबार तथा ओसारपसारका घटनामा वृद्धि देखिएको छ। दैनिकजसो लागूऔषधसहित व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ।
