काठमाडौं । नेपालमा बैंकिङ सेवाको पहुँच विस्तारसँगै ग्राहकको संख्या निरन्तर बढिरहेको भए पनि बैंक तथा वित्तीय संस्थाका शाखा भने घट्दै गएका छन्। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले निक्षेप र कर्जा खाताको संख्या उल्लेखनीय रूपमा बढे पनि शाखा विस्तारको गति उल्टै खुम्चिएको देखाएको छ।
राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तसम्म देशभर बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्थासहित) का शाखा संख्या ११ हजार ३५९ मा झरेको छ। यो संख्या २०८२ वैशाख मसान्तमा ११ हजार ५२६ र २०८१ असार मसान्तमा ११ हजार ५३० रहेको थियो। एक वर्षको अवधिमा १६७ शाखा घटेका छन्।
यता, बैंकिङ प्रणालीमा ग्राहकको सहभागिता भने निरन्तर बढिरहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनासम्म कर्जा खाताको संख्या २० लाख ३७ हजार ४३५ पुगेको छ भने निक्षेप खाताको संख्या ६ करोड २७ लाख २३ हजार ७७ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
विशेषज्ञहरूका अनुसार डिजिटल बैंकिङ, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाको विस्तार, शाखा मर्जर तथा सञ्चालन लागत व्यवस्थापनका कारण भौतिक शाखा विस्तारको आवश्यकता घट्दै गएको छ। त्यसैले ग्राहक संख्या बढिरहे पनि शाखा संख्या भने क्रमशः घट्दै गएको देखिएको हो।
