गुल्मी । रेसुङ्गा नगरपालिकाले स्थानीय उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले १० जना उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको छ। उत्कृष्ट उद्यमीको रूपमा रेसुङ्गा नगरपालिका–१० सिमिचौरका बिनबहादुर कुँवर छनोट हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
कुँवर विगत २८ वर्षदेखि ६५ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। नगरपालिकाभित्रका १३७ जना उद्यमीमध्ये मूल्याङ्कनका आधारमा उहाँ सर्वोत्कृष्ट घोषित भएका हुन्।
नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार उत्कृष्ट १० उद्यमीमध्ये सर्वोत्कृष्टलाई एक लाख रुपैयाँ र बाँकी नौ जनालाई जनही ६० हजार रुपैयाँसहित सम्मान गरिएको हो।
पुरस्कृत हुने अन्य उद्यमीमा अर्जुन रेसुङ्गा मल्टी एग्रो एन्ड टुरिज्मका भविन्द्र घर्ती मगर, रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका केशव रजाली, लक्ष्मी–लक्ष्मण कृषि फार्मका मुक्तिनाथ पन्थी क्षेत्री, गोपाल तरकारी घुम्टी फार्मका गोपाल नेपाली, रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फार्मकी विष्णुमाया श्रीस, कृष्ण कृषि उत्पादन फार्मका कृष्णबहादुर बस्नेत, भगवती कृषि तथा पशुपन्छी फार्मका चुराबहादुर जोगी कुँवर, थापा व्यावसायिक तरकारी फार्मका लिलबहादुर थापा तथा न्यू रेसुङ्गा जडीबुटी प्रशोधन केन्द्रका झविन्द्रलाल भण्डारी रहेका छन्।
यो कार्यक्रम रेसुङ्गा नगरपालिकाले ‘दायित्व’ संस्थासँगको सहकार्यमा सञ्चालन गरेको हो। कार्यक्रम संयोजक सञ्जय पोखरेलका अनुसार ‘मिसन रोजगारी’ कार्यक्रम १८० दिनसम्म तीन चरणमा सञ्चालन गरिएको थियो।
कार्यक्रमअन्तर्गत प्राप्त १३७ आवेदनमध्ये ४० व्यावसायिक फार्म छनोट गरी सक्षमीकरण गरिएको थियो। त्यसपछि २० उद्यमीलाई स्तरीकरणमा समेटिएको र अन्तिम चरणमा उत्कृष्ट १० उद्यमी छनोट गरी पुरस्कार प्रदान गरिएको हो।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्थानीय स्तरमा स्वरोजगार र रोजगारीका अवसर विस्तार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताउँदै सम्मानित उद्यमीलाई आफ्नो व्यवसाय थप विस्तार गर्न र अन्य उद्यमीलाई स्वस्थ प्रतिस्पर्धामार्फत अघि बढ्न आग्रह गरे।
