हेटौँडा । हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा पहिलो दुई दिनमै १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
स्थानीयस्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यले बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारको संयुक्त आयोजनामा महोत्सव सञ्चालन भइरहेको हो।
हेटौँडा उपमहानगरपालिका कृषि विकास शाखाका प्रमुख प्रदीप रेग्मीका अनुसार महोत्सवको पहिलो दिन तीन हजार ५०० किलो र दोस्रो दिन चार हजार ५०० किलो गरी कुल आठ हजार किलो ड्रागन फ्रुट बिक्री हुँदा १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो। महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ।
महोत्सवमा हेटौँडा, मकवानपुरगढीलगायत विभिन्न स्थानका किसानहरूले आफ्नै बगैँचाबाट उत्पादन गरेका ताजा तथा प्राङ्गारिक ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिरहेका छन्।
यसै अवसरमा ड्रागन फ्रुट खेती विस्तार गर्न इच्छुक किसानका लागि माटो तयारी, बिरुवा रोपाइँ, स्याहारसम्भार तथा रोग व्यवस्थापनसम्बन्धी निःशुल्क प्राविधिक परामर्श सेवा पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ।
सहभागी किसानहरूले हेटौँडा र आसपासको हावापानी ड्रागन फ्रुट खेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै महोत्सवले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न सहयोग पुगेको बताएका छन्।
आयोजकका अनुसार महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरण, कृषि पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
