हुम्ला । आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा कामको चाप बढेपछि हुम्लाको सिमकोट गाउँपालिकाले लगातार तीन दिनको सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीका अनुसार आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक बिदासँगै असार १५ गते सोमबार कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसका अवसरमा दिएको सार्वजनिक बिदामा पनि कार्यालयबाट नियमित सेवा प्रवाह गरिनेछ।
उनका अनुसार बिदाका कारण विकास निर्माण, प्रशासनिक तथा वित्तीय कार्य प्रभावित हुन नदिन यो निर्णय गरिएको हो। आर्थिक वर्षको अन्तिम समयमा योजना सम्पन्न गर्ने, भुक्तानी प्रक्रिया टुंग्याउने तथा अन्य प्रशासनिक काम समयमै सक्ने उद्देश्यले कार्यालय खुला राखिने उनले बताए।
गाउँपालिकाले बिदाका दिन पनि सबै सेवा नियमित रूपमा उपलब्ध हुने जनाएको छ। आवश्यक सेवा लिन सेवाग्राहीलाई कार्यालयमा उपस्थित हुन अनुरोध गर्दै गाउँपालिकाले शुक्रबार साँझ सूचना जारी गरेको छ।
गाउँपालिकाको निर्णयसँगै आर्थिक वर्षको अन्तिम समयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने र विकास निर्माणका काम समयमै सम्पन्न गर्ने अपेक्षा गरिएको छ।
