काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा 'विश्वविद्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनसम्बन्धी' (Purbanchal University Management System (PUMS) एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन प्रणाली (पिउएमएस) कार्यान्वयन गर्ने सम्बन्धमा काठमाडौंमा सम्बन्धन प्राप्त कलेजहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. बिजुकुमार थपलियाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन नवीनकुमार भट्टराई, चिकित्साशास्त्र संकायका डिन डा. श्याम मल्लिक, उपकुलपतिका सल्लाहकार दिनेशराज सुवेदी, सहपरीक्षा नियन्त्रक श्री मेनुका श्रेष्ठ, मुख्य अधिकृत श्री विनय भट्टराई, वरिष्ठ अधिकृत विभूषिता अर्याल तथा पिउक्यानका अध्यक्ष सुधीर गुरागाईको उपस्थिति रहेको थियो।
साथै कार्यक्रममा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन, वीरगञ्ज, भैरहवा, नेपालगञ्जलगायत विभिन्न स्थानका करिब ७० वटा क्याम्पस तथा कलेजका प्राचार्य एवं प्रतिनिधिसहित करिब १४० जनाको सहभागिता रहेको थियो।

विश्वविद्यालयद्वारा आयोजित उक्त कार्यक्रममा अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकुमार रेग्मीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने प्रणाली विकास गर्ने प्राविधिक टोलीले व्यवस्थापन प्रणालीको प्रत्यक्ष प्रदर्शन गरेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उपकुलपति प्राध्यापक डा. बिजुकुमार थपलियाले भन्नुभयो, “आज हामी केवल एउटा नयाँ प्रणालीको सुरुवात गर्न भेला भएका होइनौं, हामी पूर्वाञ्चल विश्वविद्यालयलाई डिजिटल, पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्थाका रूपमा रूपान्तरण गर्ने ऐतिहासिक यात्राको प्रारम्भ गर्न यहाँ एकत्रित भएका छौं। समयको माग, प्रविधिको विकास तथा उच्च शिक्षामा बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा वित्तीय गतिविधिलाई डिजिटल माध्यमबाट एकीकृत गर्ने उद्देश्यका साथ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन प्रणाली (पिउएमएस) को कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको हो।”
उहाँले पूर्वाञ्चल विश्वविद्यालयसँग हाल देशभर फैलिएका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूको सञ्जाल रहेको उल्लेख गर्दै यति ठूलो सञ्जालको प्रभावकारी सञ्चालन, अनुगमन तथा मूल्याङ्कनका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अपरिहार्य भइसकेको बताउनुभयो। यसै सन्दर्भमा विश्वविद्यालयले डिजिटल रूपान्तरणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।
उपकुलपति थपलियाका अनुसार यस प्रणालीमार्फत विद्यार्थी भर्ना, शैक्षिक अभिलेख, परीक्षा व्यवस्थापन, प्रशासनिक गतिविधि, वित्तीय कारोबार, प्रतिवेदन प्रणाली तथा संस्थागत अनुगमनलाई एउटै एकीकृत डिजिटल मञ्चमा ल्याइनेछ। यसबाट सूचना प्रवाह छिटो, तथ्याङ्क व्यवस्थापन व्यवस्थित, निर्णय प्रक्रिया तथ्यमा आधारित तथा सेवाग्राहीप्रतिको उत्तरदायित्व अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
उहाँले अनुगमन तथा मूल्याङ्कन केन्द्रको दृष्टिकोणबाट यो प्रणाली केवल सूचना सङ्कलन गर्ने माध्यम मात्र नभई विश्वविद्यालयका गतिविधिको वास्तविक अवस्था बुझ्ने, कार्यसम्पादन मापन गर्ने तथा गुणस्तर सुधारका लागि आवश्यक निर्णय लिन सहयोग गर्ने महत्वपूर्ण साधनका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो। अब अनुगमन केवल कागजी प्रतिवेदनमा सीमित नरही वास्तविक समयमै प्राप्त तथ्याङ्कका आधारमा विश्वविद्यालयले आफ्ना शैक्षिक तथा प्रशासनिक गतिविधिको अवस्था अवलोकन गर्न सक्ने उहाँले बताउनुभयो।
उहाँले यस अभियानको सफलता विश्वविद्यालयको मात्र प्रयासले सम्भव नहुने उल्लेख गर्दै सबै आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूको सक्रिय सहभागिता, प्रतिबद्धता र सहयोग अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा उपस्थित सम्पूर्ण कलेज प्रतिनिधिलाई उक्त प्रणालीलाई आफ्ना संस्थाको कार्यसंस्कृतिको अभिन्न अङ्ग बनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

डिजिटल रूपान्तरणको यात्रा चुनौतीरहित नरहेको उल्लेख गर्दै प्रारम्भिक चरणमा प्राविधिक, व्यवस्थापकीय तथा मानवीय पक्षसँग सम्बन्धित केही कठिनाइ आउन सक्ने भए पनि साझा प्रतिबद्धता, निरन्तर सुधार तथा सहकार्यबाट ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो।
उहाँले आजको अभिमुखीकरण कार्यक्रमले प्रणालीको उद्देश्य, प्रयोग विधि, अपेक्षित उपलब्धि तथा कार्यान्वयन प्रक्रियाबारे साझा बुझाइ निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै यहाँबाट प्राप्त सुझाव, अनुभव तथा प्रतिक्रियाले प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने र पूर्वाञ्चल विश्वविद्यालयलाई “स्मार्ट, सक्षम, पारदर्शी र आपसमा जोडिएको विश्वविद्यालय” का रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकुमार रेग्मीले विश्वविद्यालय सूचना तथा प्रविधिको क्षेत्रमा अग्रणी भूमिकामा रहेको उल्लेख गर्दै यस कार्यक्रममार्फत विश्वविद्यालय र आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस–कलेजबीचको सम्बन्ध थप विस्तार हुने तथा सेवा प्रवाहमा सहज पहुँच स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आज सञ्चालन गरिएको एकदिने अभिमुखीकरण कार्यक्रम काठमाडौं उपत्यका तथा पश्चिम क्षेत्रका सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूका लागि रहेको जानकारी दिँदै विराटनगरलगायत पूर्वी क्षेत्रका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजका लागि पनि विराटनगरमा यस्तै एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो।
